काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक बर्षको अथक प्रयासपछि अर्थतन्त्रमा केही सुधार भएको दाबी गरेका छन । आज (शुक्रबार) मोरङ व्यापार संघले आयोजना गरेको उद्योग व्यापार मेला (एक्स्पो २०२३) को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।
उनले भने, ‘सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेको वर्तमान सरकार अर्थतन्त्रका चुनौतीहरु सम्बोधन गर्दै समृद्धिको यात्रालाई गति दिन निरन्तर क्रियाशील छ । जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला देशको अर्थतन्त्र निकै अप्ठ्यारो परिस्थितिमा थियो ।’ उनले एक वर्षको अनवरत प्रयास र निजी क्षेत्रको सहयोगमा अर्थतन्त्रमा क्रमशः सुधार आइरहेको बताएका छन ।
उनले महँगी नियन्त्रणका दृष्टिले यतिबेला देश २ वर्षयताकै प्रगतिमा रहेको बताएका छन । उनले भुक्तानी सन्तुलनका दृष्टिले समेत राम्रो प्रगति हुँदै गएको र निर्माण व्यवसायीहरुको भुक्तानी गर्न बाँकी रकम भुक्तानीको प्रक्रिया अगाडि बढेको बताएका छन ।
उनले भने, ‘यसले एकातर्फ अर्थतन्त्रलाई चलायमान तुल्याउने छ भने अर्कोतर्फ नयाँ आयोजनाहरुको निर्माण प्रक्रियाले तीव्रता लिनेछ । अर्थतन्त्र सुधारका दृष्टिले यो आफैंमा महत्वपूर्ण पहल हो ।’ उनले चालु आर्थिक वर्षमा प्रतिमहिना औसत एक खर्ब २० अर्ब रुपैयाँभन्दा बढी रेमिटेन्स भित्रिएको भन्दै रेमिटेन्सको निर्भरता अर्थतन्त्रको दीर्घकालीन समाधान भने नगर्ने पनि बताएका छन ।


प्रतिक्रिया