घले समूहले १३८ किलो सुन विमानस्थलमा ल्याइसकेको छानबिन समितिको निष्कर्ष

घले समूहले १३८ किलो सुन विमानस्थलमा ल्याइसकेको छानबिन समितिको निष्कर्ष



काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीनबहादुर घलेको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । यसमध्ये पछिल्लो पटक १४ किलो सुन भन्सार कार्यालयले बरामद गरेको थियाे ।

२२ मंसिरमा दुबईबाट काठमाडौं आएका चन्द्र घलेलाई भन्सार कार्यालयले १४ किलो सुनसहित पक्राउ गरेको थियो । त्यसक्रममा गोरखाका मीनबहादुर घले पनि पक्राउ परेका थिए ।

त्यसपछि छानबिन समिति गठन भएको थियो । सो समितिले छानबिन प्रतिवेदन सार्वजनिक गर्दै १३८ केजी सुन नेपाल भित्र्याएकोमा १४ केजी मात्रै बरामद गरिएको जनाएको छ ।

समितिका अनुसार मीनबहादुर घलेले दुबईमा बस्ने गरेका भारतीय नागरिकसँग मिलेर सुन तस्करी गर्ने गरेका थिए । मीनबहादुर स्वयं, चन्द्र र कृष्णकुमार श्रेष्ठले भरिया बनेर सुन ल्याउने गरेको पाइएको छ ।

छानबिन समितिले भनेको छ, ‘पटक पटक गरी मिनबहादुर घले, चन्द्र आले र कृष्णकुमार श्रेष्ठले जम्मा १३८ केजी सुन ल्याएर विमानस्थलबाट सेटिङ मिलाएर बाहिर ल्याउने गरेकोमा पछिल्लो पटक चन्द्र घलेले ल्याएको १४ केजी मात्र पक्राउ परेको देखिन्छ ।’

मीनले एयरपोर्टमा सेटिङ मिलाउन दानबहादुर गुरुङलाई प्रयोग गर्ने गरेको र एयरपोर्टबाट सुन बाहिर निकाल्न नागरिक उड्डयन प्राधिकरणका कर्मचारी राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, अवकाशप्राप्त भई करारमा कार्यरत रमेश देउला, पलम्बर शेरबहादुर बस्नेत र कार्यालय सहयोगी अनिल श्रेष्ठको भूमिका रहेको समितिको ठहर छ ।