प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी र मधेश प्रदेशको जित

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी र मधेश प्रदेशको जित



काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय प्रतियोगितामा कर्णालीलाई ३० रनले पराजित गरेको छ । जितका लागि १ सय ३४ रनको बलियो विजयी लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३ रनमा समेटियो ।

कर्णालीका लागि गौरी बोहराले २२ बलमा २ चौकासहित सर्वाधिक २२ रन बनाइन् । त्यस्तै, यमुना थारुले २९ बलमा ४ चौकासहित २१ रन बनाइन् । अञ्जु गुरुङ ६ बलमा ३ चौकासहित १३ र रश्मी खड्का ११ रनमा नट आउट रहिन् । तृर्सना विश्वकर्माले ८, कप्तान किरण कुँवरले २ र बीना थापा ४ रनमा आउट भइन् ।

लुम्बिनीकी सरस्वती पुन र कृतिका मरासिनीले समान दुई/दुई विकेट लिए भने शर्मिला रोका र चमेली चौधरीले समान एक/एक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३३ रन बनाएको थियो ।

लुम्बिनी प्रदेशकी कप्तान सरस्वती गङ्गा मगरले ६२ बलमा ७ चौकासहित ५३ रन बनाइन् । चमेली चौधरीले २२ बलमा २ चौकासहित १८ रन बनाइन् । सरस्वती पुनले ३ र मधु डिसीले २ रन बनाए । कर्णालीका लागि यमुना थारु, रश्मी खड्का र तृर्सना विश्वकर्माले समान एक/एक विकेट लिए ।

लुम्बिनीको यो दोस्रो जित हो । लुम्बिनीले पहिलो खेलमा गण्डकीलाई ४ विकेटले हराएको थियो । यता कर्णालीको यो लगातार चौथो हार हो । कर्णाली यसअघि कोशीसँग १० विकेट, गण्डकीसँग ४४ रन र सुदूरपश्चिमसँग ८१ रनले पराजित भएको थियो ।

त्यसैगरी मूलपानी क्रिकेट मैदानमा सोमबार नै भएको खेलमा गण्डकी प्रदेशलाई २७ रनले हराउँदै मधेशले पहिलो जित हात पारेको हो । मधेशले दिएको ११३ रनको लक्ष्य पछ्याएको गण्डकी १९.४ ओभरमा ८५ रनमा अलआउट भएको हो ।

गण्डकीका लागि सुमन खतिवडाले सर्वाधिक ४२ रन बनाइन् । उनले ३३ बलमा ६ चौका प्रहार गरेकी हुन् । सृष्टि जैशीले ३४ बलमा १ चौकासहति १५ रन बनाइन् भने अन्य कुनैले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मधेशका लागि पुजा महतोले सर्वाधिक ३ विकेट लिइन् । सरस्वती कुमारी चौधरी, कविता गौतम र साक्षी यादवले १/१ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेसले २० ओभरमा ७ विकेट गुमाउँदै ११२ रन बनाएको थियो । मधेशका लागि ओपनर पुजा महतोले सर्वाधिक ३८ रन बनाइन् । उनले ४३ बलमा ५ चौका प्रहार गरिन् ।

सरस्वती कुमारी चौधरीले २६ रन बनाइन् भने प्रतिमा साहले १० रन बनाइन् । मधेशले २२ रन अतिरिक्त पाएको थियो । गण्डकीको लागि सुमन खतिवडाले सर्वाधिक ३ विकेट लिइन् । कुसुम गोदारले १ र सृष्टि जैशीले १/१ विकेट लिए ।

चौथो चरणको यो खेलसँगै गण्डकी र मधेशको खातामा १/१ जित सहित समान २ अंक छ । नेट रन रेटका आधारमा गण्डकी छैटौं स्थानमा छ भने मधेश रनरेटका आधारमा सातौं स्थानमा छ ।