बीबीसीले तयार पारेको रिपोर्टअनुसार बेलायतको युद्धपोत एचएमएस ट्रेन्टलाई गायना पठाइने छ, यसले क्रिसमसपछि सैन्य अभ्यासमा भाग लिनेछ । गायना राष्ट्रमण्डलको सदस्य हो र कुनै बेला बेलायतको उपनिवेश थियो । बेलायतले गायनालाई कूटनीतिक र सैन्य समर्थन देखाउन आफ्नो जहाज गायना पठाउन लागेको हो ।
बेलायतले आफ्नो एउटा लडाकु जहाज गायना पठाउने तयारी गरिरहेको छ । भेनेजुएलासँग गायनाको तनाव बढेपछि बेलायतले यो निर्णय गरेको हो । तनाव किन बढ्यो ?
भेनेजुएलाले हालै खनिज र तेलजस्ता स्रोतले धनी गायनाको क्षेत्रमाथि आफ्नो दाबी दोर्होयाएपछि बेलायतले यो निर्णय गरिएको हो । यस महिनाको सुरुमा भेनेजुएला सरकारले गायनाको एस्किबो क्षेत्र हटाउने धम्की दिएको थियो ।
भेनेजुएलाको यो धम्कीपछि दक्षिण अमेरिकामा दशकौंपछि युद्धको डर पैदा भएको छ । यस महाद्वीपमा पछिल्लो पटक सन् १९८२ मा फकल्याण्ड द्वन्द्व भएको थियो ।
भेनेजुएलाको दाबी
भेनेजुएलाले लामो समयदेखि एस्क्विबो दाबी गर्दै आएको छ । ६१ हजार वर्ग किलोमिटरको यो क्षेत्रले गायनाको दुई तिहाइ भाग ओगटेको छ । यसका पहाडहरू सुन, हीरा र बक्साइटले धनी छन् भने यसको तट नजिकै तेलको ठूलो भण्डार फेला परेको छ ।
गायनाको अर्थतन्त्र तीब्र गतिमा बढिरहेको छ भने भेनेजुएला कठिनाइसँग संघर्ष गरिरहेको छ । डिसेम्बर ४ मा, भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले जनतालाई देशले एस्किबो दाबी गर्ने कि नगर्ने भनेर जनमत संग्रह गराए ।
यस जनमतसंग्रहको नतिजालाई लिएर शंका र विवाद भए पनि मादुरोले अझै पनि देशको नयाँ नक्सा प्रकाशित गरे । जसमा एस्क्विबो भेनेजुएलाको हिस्सा देखाइएको थियो । मादुरोले एस्क्विबोका लागि नयाँ गभर्नर नियुक्त गरे र त्यहाँ बस्ने मानिसहरूलाई भेनेजुएलाको परिचयपत्र प्रदान गरे । उनले राष्ट्रिय आयल कम्पनीबाट एस्क्विबोमा तेल खानीका लागि इजाजतपत्र जारी गर्ने घोषणा पनि गरेका छन् ।
यसपछि मदुरोले गायनाका राष्ट्रपति इरफान अलीसँग भेट गरे र कुनै पनि प्रकारको बल प्रयोग नगर्ने वाचा गरे । तर उनले एस्क्विबोमा आफ्नो दाबी छोडेका छैनन् । यो पूरै घटनाको अन्तर्राष्ट्रिय प्रभाव पनि परेको छ । लन्डन इन्स्योरेन्सको लोयडले गायनालाई सबैभन्दा खतरनाक ढुवानी मार्गहरू भएका क्षेत्रहरूमा समावेश गरेको छ ।
विवादको जड
एस्क्विबो विवादको जरा झण्डै दुई सय वर्ष अघिको हो । त्यसबेला बेलायतले गायना कब्जा गरेको थियो, नेदरल्याण्डसँगको सन्धिअन्तर्गत बेलायतलाई यो अधिकार दिइएको थियो । यस क्षेत्रमा एस्किबो पनि समावेश छ जसलाई ब्रिटिश गायना नाम दिइएको थियो । तर भेनेजुएलाले अझै पनि यस क्षेत्रलाई आफ्नो दाबी गर्दै आएको छ र बेलायती शासक र भेनेजुएलाबीच झण्डै एक शताब्दीसम्म विवाद जारी रह्यो ।
जब एस्क्विबोमा सुनको पत्ता लाग्यो, यी दावीहरू तीव्र भए र दुवै पक्षहरू विवादलाई अन्तर्राष्ट्रिय न्यायालयमा लैजान सहमत भए ।
सन् १८९९ मा, अन्तर्राष्ट्रिय न्यायालयले ९० प्रतिशत क्षेत्र र सबै सुन खानीहरू ब्रिटिश गायनाको पक्षमा दिए । भेनेजुएलाले यो निर्णयको आलोचना गरेको थियो । बेलायती र रुसी अधिकारीसँग मिलेमतोमा भेनेजुएलाविरुद्ध यो निर्णय दिइएको आरोप थियो ।
त्यसयता यो विवाद सँधै जारी छ । सन् १९५८ मा भेनेजुएलाका शासक मार्कोस जिमेनेजले एस्क्विबोमाथि आक्रमण गर्ने योजना पनि बनाए तर त्यसलाई परास्त गरियो । भेनेजुएलाले अझै पनि १८९९ को न्यायालयको निर्णय गलत भन्छ ।
वर्तमान अवस्था
गायनाले सन् १९६६ मा ग्रेट ब्रिटेनबाट स्वतन्त्रता प्राप्त गरेको थियो । यसअघि बेलायत र भेनेजुएलाबीच जेनेभा सम्झौता भएको थियो, जुन एस्क्विबो विवादलाई स्थायी रूपमा समाधान गर्ने अस्थायी कदम थियो । यस सम्झौता अनुसार यदि दुबै पक्षले विवादको स्थायी र शान्तिपूर्ण समाधान खोज्न असफल भएमा, उनीहरूले सहमतिमा अन्तर्राष्ट्रिय निकायमा सम्पर्क गर्नेछन् । यदि त्यहाँ सफल भएन भने उनीहरूले संयुक्त राष्ट्र महासचिवसँग सम्पर्क गर्नेछन् ।
जेनेभा सम्झौतामा बेलायतले १८९९ को निर्णयलाई मान्यता नदिने भेनेजुएलाको कुरालाई स्वीकार गरेको थियो । थप केही नबोलेकाले यथास्थिति कायम रह्यो । तर सन् २०१० को दशकमा गायनाको तटमा तेलको ठूलो भण्डार फेला परेपछि भेनेजुएला आफ्नो दाबीमा आक्रामक भएको छ । हालै भेनेजुएलाका विपक्षी नेता मारिया कोरिना मचाडोले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘हामी भेनेजुएलाहरूलाई थाहा छ कि एस्क्विबो भेनेजुएलाको अधिकार हो र हामी यसको रक्षा गर्न प्रतिबद्ध छौं ।’
भेनेजुएलाको आक्रमणका कारण गायनाले ब्राजिल र अमेरिकासँग सुरक्षा सम्बन्ध बलियो बनाएको छ । जोन क्विन्सी एडम्स सोसाइटी नामक थिंक ट्याङ्कका कार्यक्रम सहायक एजे मनुजीले अहिले कुनै पनि हिंसात्मक विवादको सम्भावना नरहेको लेखेका छन् ।
अनलाइन पत्रिका रेस्पोन्सिबल स्टेटक्राफ्टमा आफ्नो लेखमा मनुजीले लेखेका छन्, ‘प्रतिपक्षको नेता चयन गर्ने बेला जनमत संग्रहको घोषणा गरिएको थियो । जनमत संग्रहलाई लिएर विपक्षीहरू विभाजित भए पनि उनीहरूले एस्किबोको दाबीलाई समर्थन गरे । चुनाव हुनैपर्छ । सन् २०२४ मा हुने निर्वाचनमा यदि मादुरोको लोकप्रियता आर्थिक कठिनाइहरूको सामना गरिरहेको देशमा घट्यो भने उसले यो संकट राष्ट्रवादीहरू आफ्नो पक्षमा जुटाउन प्रयोग गर्न सक्छन् ।’
मदुरोले जनमत संग्रहको विरोध गर्ने विपक्षी नेताहरूलाई देशद्रोही भनेका छन् ।
प्रतिक्रिया