कांग्रेसको नेतृत्व लिन बढ्न थालेको दौडधुप

कांग्रेसको नेतृत्व लिन बढ्न थालेको दौडधुप

सभापति देउवा भरपर्दो विकल्प खोजेर नेतृत्व हस्तान्तरण गर्ने मनस्थितिमा देखिन्छन्



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्वका लागि मार्गप्रशस्त गरिदिने भएपछि नयाँ नेतृत्वका आकांक्षीहरु बीच दौडधूप तीब्र देखिन थालेको छ । सभापति देउवा शारीरिकरुपमा निश्कृय हुँदै गएका र विधान अनुसार मिल्ने दुई कार्यकाल पूरा गर्न लागेकोले नयाँ नेतृत्वका लागि आकांक्षीहरु कार्यकर्ता माझ पुग्न थालेका छन् । विधान संशोधन गरेर भए पनि आफू नेतृत्वमा आउने भित्री मनसाय पालेका देउवा भरपर्दो विकल्प खोजेर नेतृत्व हस्तान्तरण गर्ने मनस्थितिमा देखिन्छन् । नजिकका नेताहरुसँग उनले यस्तो आशय व्यक्त गरेपछि नेतृत्व लिन नेताहरुबीच प्रतिस्पर्धा गरमागरम बन्न थालेको हो ।

बिसं २०८२ मा देउवाको कार्यकाल पूरा हुँदैछ । तथापि सभापति देउवाले विधानअनुसार एक बर्षका लागि कार्यकाल लम्व्याउन सक्नेछन् । धेरैको अनुमान रहेको छ उनले एकवर्ष कार्यकाल लम्ब्याउन सक्छन् । देउवाले आफ्नो कार्यकाल लम्ब्याए भने नेतृत्व आफ्नो पक्षमा ल्याउन दौडधुप बढाएका आकांक्षीहरुले रणनीतिक जोड घटाउमा समय पाउने देखिन्छ । अन्यथा डेढ वर्ष मात्र समय बाँकी रहन्छ । त्यसैले नेताहरु कस्सिएर नेतृत्वका लागि आफ्नो पक्षमा माहोल सिर्जना गर्न सक्रिय देखिन्छन् ।

आगामी पार्टीको नेतृत्व लिनका लागि डा. शशांक कोइराला, डा. शेखर कोइराला, गगन थापा, डा. प्रकाशशरण महत, पूर्णबहादुर खड्का, कृष्ण सिटौला, विमलेन्द्र निधि इच्छुक देखिन्छन् । डा. महत, सिंह, खड्का, सिटौला र निधि देउवा पक्षका हुन भने कोइराला र थापा अर्का पक्षका प्रतिस्पर्धी हुन् । डा शशांक बीपी पुत्र भए पनि डा. शेखरलाई नेतृत्वमा आउन नदिन अघिल्लो अधिवेशनदेखि नै देउवा नजिक पुगेका छन् । उनी भरसक आफै आउने नत्र शेखरलाई रोक्न सक्ने उम्मेद्वारको पक्षमा लाग्ने नजिकका स्रोतहरु बताउँछन् । हालै जिल्ला भ्रमणमा निस्किएका उनले यसपटक सभापतिमा चुनाव लड्ने उद्घोष गरिसकेका छन् ।

महामन्त्री गगन थापाले यसअघि नै सभापतिमा उम्मेद्वारी दिने बताइसकेका छन् र सोही अनुकूल जिल्ला जिल्लामा नेटवर्क गरिरहेका छन् । थापालाई आफ्नो पक्षमा ल्याउन डा शेखरले गत अधिवेशनमा नै आफू एकपटक मात्र उम्मेद्वार बन्ने र अर्कोपटक थापालाई सहयोग गर्ने बचन दिएका थिए । सोही अनुसार उनले थापालाई संसदीय दलको नेताको चुनावमा सार्वजनिकरुपमा सहयोग गर्ने बचन दिएर आफ्नो बचन पूरा गरेका थिए ।

तर देउवा पक्षका तीन जना सांसद आफ्नो पक्षमा ल्याउँदा पनि दुवै समूह मिसाउँदाको कुल सांसद संख्या अनुसार भोट नआएको र त्यसमा शेखर लगायत उनका नजिकका सांसदले धोका दिएको भनेर थापा झस्किएका छन् । त्यसैले यो समूहको एकतामा विश्वासको संकट देखिएको छ र दुवै नेता आ आफ्नो पक्षमा कार्यकर्ता आकर्षित गर्न दोडधूप गरिरहेका छन् । यसरी थापा शेखर समूहबीच विश्वासको संकट र दाईलाई अघिल्लो अधिवेशनमा झै जसरी पनि रोक्न शशांक सक्रिय देखिएकोले देउवाको उत्तराधिकारी बलियो देखिन्छन् । युवाहरुबीच निकै प्रिय थापा सांसदको भूमिकाबाहेक महामन्त्रीको भूमिकामा भने त्यति जम्न नसकेको धेरै कार्यकर्ताहरुको गुनासो पनि रहेको छ भने पछिल्लो समय कांग्रेसलाई नै दाउँमा राखेर महामन्त्री जस्तो व्यक्तित्वले सहकारी ठगी विषयमा रास्वपामाथि आक्रामकरुपमा जाइलाग्न हुँदैनथ्यो, बरु त्यही काम अरु नेतालाई अघि सारेर पनि प्रभावकारी ढंगले गर्न सकिन्थ्यो ।

आफूलाई अगाडि बढाउँछन भन्ने संकेत पाएका डा. महत देश दौडाहामा व्यस्त देखिन्छन । पढेलेखेका विद्वान भएको र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पछिल्लो समय देशभित्रको सांगठानिक अनुकुलता बढाउँदै लगेका डा. महत कांग्रेसमा पुरानो र नयाँ दुवै पुस्तालाई जोड्ने उपयुक्त पात्र भएको दाबी गरिरहेका छन् ।

यसले उनको पुरानो ओझ घटायो भन्नेहरु धेरै छन् । हुनत नेताको परीक्षा पद वा कुर्सीमा पुगेपछि नै हुने हो । भाषणा गरेजसरी काम गर्न कठिन छ । तथापि महामन्त्रीमा पुगेपछि धेरैलाई लागेको थियो, थापा र शशांक गिरिजाप्रसाद जस्तो शक्तिशाली महामन्त्री हुनेछन् । तर दुवैले धेरै कार्यकर्ता तथा शुभेच्छुकको अपेक्षामा कुठाराघात गरेको धेरैको निष्कर्ष रहेको छ ।

तर उनको उत्तराधिकारी को हो त ? देउवा नजिकको स्रोत भन्छ, यो भने अझै पनि टुंगो लागेको छैन । देउवाले आफू अहिलै नै केही नबोल्ने बताइरहेका छन् । देउवा पक्षबाट डा. शशांक, डा. प्रकाशशरण महत र पूर्णबहादुर खड्का मध्ये एकको सम्भावना छ । देउवा पक्षमा लागेका प्रकाशमानसिंह शारीरिकरुपमा अस्वस्थ देखिएका छन् र नजिकका कार्यकर्ताहरुलाई जसले राम्ररी संरक्षण गर्न सक्छ, त्यतै लाग, नेतृत्वमा मेरो संभावना कम छ भन्दै हिडिरहेका छन् । निधि देउवालाई छोडेर हिडिसकेकोले एक्लै देखिन्छन् । निधि तराईको क्षेत्रीय दायरा भन्दा माथि उठ्न नसकेको कांग्रेस बृतमा चर्चा छ । अन्यथा पूर्वमहामन्त्री तथा उपसभापति रहेकाले देउवा पक्षबाट उनको नाम अगाडि आउन सक्ने देउवा निकट बताउँछन् ।

पार्टीमा पक्कड कमजोर हुँदै गएको, तराई भन्दा माथि उठेर राजनीति गर्न नसकेको र छिमेकसँगको सम्बन्ध कमजोर बन्दै गएपछि यसअघिको आम निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव लड्ने हिम्मत गर्न सकेका थिएनन् । निकटस्थ सूत्रहरु बताउँछन्, देउवा पार्टीको आफ्नो लगाम नियन्त्रण गरिराख्न आफूलाई धोका नदिने विश्वासपात्र उत्तराधिकारी खोजिरहेका छन् । थप उनी डा आरजुलाई पनि पदाधिकारीमा ल्याउने मनस्थितिमा देखिन्छन् । यसरी हेर्दा देउवाको एक्का विश्वासपात्र डा महतले नेतृत्व हत्याउने अनुमान पनि गर्न थालेका छन् । पछिल्लो समय देशव्यापीरुपमा आफ्नो सक्रियता बढाएका डा महतले देउवाबाट यो संकेत पाएर सक्रियता बढाएका हुन् कि भन्ने धेरैको आशंका र अनुमान रहेको छ ।

पार्टी उपसभापति भएको र आफ्नै क्षेत्रको भएकोले पूर्णबहादुर खड्कालाई अगाडि बढाउन सक्ने एकथरी विश्लेषकहरुको अनुमान रहेको छ । तर नेतृत्व गरिहाल्ने गरी उनको व्यक्तित्व निर्माण नभएको पार्टीबृतमा चर्चा छ । खड्कालाई शेखरले आफ्ना राष्ट्रपतिका भावी उम्मेद्वारका रुपमा अगाडी सारेर आफ्ना स्थायी प्रशंसक बनाइरहने योजनामा रहेको बुझिन्छ ।

केही बर्ष यतादेखि देउवाले डा.महतलाई अगाडि बढाउन थालेको जस्तो देखिन्छ । खड्काले निकै कसिलो अनुरोध गर्दा पनि देउवाले यसअघिको सरकारमा उनलाई अर्थमन्त्रीमा अगाडि ल्याएनन् र डा. महतलाई अर्थमन्त्रालयको जिम्मेवारी दिलाए । शक्तिशाली मन्त्रालय दिएका कारण देउवाले पछिल्लो समय डा. महतलाई नेतृत्वमा कसरत गराउन खोजेको हो कि भन्ने धेरैको अनुमान रहेको छ । नेपालको अर्थतन्त्रलाई आधुनिकीकरण गर्ने सुधारवादी नेता डा.रामशरण महतका भाइ भएकोले डा. प्रकाशशरणको व्यक्तित्व ओझेलमा परेको तर पछिल्लो पटक आफ्नो राजनीतिलाई नै दाउमा राखेर जथाभावी राज्यकोष दुरुपयोग गर्न चाहने तत्कालीन सरकार प्रमुख प्रचण्डलाई रोक्ने, दाई महतले अघि सारेका आर्थिक नीति तथा सुधारका कार्यक्रमहरुलाई अगाडि बढाएर अर्थमन्त्रालयको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेपछि भाइ डा महतको व्यक्तित्वको कद बढेको छ । यसले डा महतलाई नेतृत्वमा आउन हौस्याएको मात्र नभै देउवाको थप विश्वास जित्ने अवसर पनि दिलाएको थियो । २०३६ सालतिर बलबहादुर केसीले नेविसंघको सभापति हुँदा पूर्णबहादुर खड्का पाँच उपसभापति मध्ये एक क्षेत्रलाई प्रतिनिधित्व गर्ने गरी उपसभापति थिए भने डा. प्रकाशरण महत नेविसंघको केन्द्रीय महामन्त्री थिए ।

यता आफूलाई अगाडि बढाउँछन भन्ने संकेत पाएका डा. महत देश दौडाहामा व्यस्त देखिन्छन । पढेलेखेका विद्वान भएको र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पछिल्लो समय देशभित्रको सांगठानिक अनुकुलता बढाउँदै लगेका डा. महत कांग्रेसमा पुरानो र नयाँ दुवै पुस्तालाई जोड्ने उपयुक्त पात्र भएको दाबी गरिरहेका छन् । उनले देशैभरीबाट अहिले निक्कै अनुकुल माहोल बनाउँदै लगेका छन । यता महामन्त्री थापाले पनि असहयोग गर्ने र परिवारभित्रैबाट विशेषगरी सुजाता र डा. शशांक कोइरालाबाट असहयोग पाउने भएपछि शेखरलाई फेरि पुरानै अप्ठेरो पर्ने र यस्तो अवस्थामा डा महतले बाजी मार्न सक्ने चर्चा पनि शुरु भएको छ ।

जे होस, अहिले आकांक्षी देखिएका शशांक, शेखर थापा, महत, निधि, खड्कामध्ये महत, शेखर र थापाबीच प्रतिस्पर्धा हुने प्रवल सम्भावना देखिन्छ । कतिपय नेताहरु देउवाको भित्री मनसाय बुझेर आरजु व्यवस्थापन गर्ने समीकरण लिएर उनी समक्ष धाउन थालेका छन् । तर देउवाको भित्री चाहना आफूले नसकेको अवस्थामा मात्रै नेतृत्व हस्तान्तरण गर्ने र उपयुक्त विश्वासपात्रलाई अघि सार्नेछन् भन्ने बुझ्न कठिन छैन ।
(राउत लामो समयदेखि अर्थ–राजनीतिमा पत्रकारिता गर्छन्)