महिलालाई पोलमा बाँधेर निर्घात कुटपिट गर्ने श्रीमानसहित ७ जना पक्राउ

महिलालाई पोलमा बाँधेर निर्घात कुटपिट गर्ने श्रीमानसहित ७ जना पक्राउ



सिन्धुली । लेनदेनको विषयलाई लिएर कमलामाई नगरपालिका–४, सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर निर्घात कुटपिट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीबाट करिब ३ किलोमिटरको दूरीमा स्थानीय शारदा थापामाथि अमानवीय व्यवहार भएको सूचना पाएपछि आइतबार प्रहरी प्रमुख एसपी राजकुमार सिलवाल नेतृत्वको टोली गाउँमा पुगेको थियो ।

सिलवालकाे टोली घटनास्थलमा पुग्दा पनि ढकाल गाउँस्थित घर अगाडिको बिजुली पोलमा शारदालाई बाँधिएको थियो । गाउँका स्थानीयहरू पनि भेला भएर बसिरहेका थिए । प्रहरी पुगेपछि त्यहाँ भेला भएका स्थानीयहरू भागाभाग भएका थिए ।

आइतबार अपराह्न साढे ४ बजे प्रहरी घटनास्थलमा पुगेर प्रहरीले शारदाको उद्धार गरेको हो । उद्धार गरेपछि प्रहरीले उनलाई सेफ हाउसमा राखेको छ । प्रहरी पुग्दा भने शारदा अचेत अवस्थामा थिइन् ।

एसपी सिलवालले भने, ‘तीन दिनसम्म बाँधेर लाठी, हात, खुट्टाले हिर्काएको भन्ने बयान दिएकी छन् । शरीरमा निलडामहरु थिए । बोल्न नसक्ने अवस्थामा भएकाले हामीले धेरै कुराकानी गरेका छैनौं । आज अलि ठीक भएको छ ।’

यस घटनापछि प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । शारदाका श्रीमान सन्तोष थापासहित अन्य स्थानीयहरू पक्राउ परेका हुन् । उनीहरूलाई प्रहरीले मंगलबार म्याद थप गर्ने तयारी गरिरहेको छ ।

पक्राउ परेकामध्ये कोही स्थानीय स्तरमा राजनीतिमा संलग्न व्यक्तिसमेत छन् । यद्यपि, हालसम्म प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन । थप केही व्यक्ति छानबिनको दायरामा रहेको बताइएकाे छ । त्यसरी निर्घात कुटपिट गर्नुको कारणबारे अनुसन्धान भइरहेको एसपी सिलवाल बताए ।