मागबमोजिम निर्णय हुँदै छ, आन्दोलन नगर्नू : श्रम मन्त्रालय

मागबमोजिम निर्णय हुँदै छ, आन्दोलन नगर्नू : श्रम मन्त्रालय



काठमाडौँ । ईपीएस कोरिया अन्तर्गत पानी जहाज निर्माण क्षेत्र (सिपबिल्डिङ) तर्फ आवेदन दिएकाहरूले पनि उत्पादनमूलक क्षेत्रको आवेदन दिन सक्ने गरी निर्णयको तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

आज एक विज्ञप्तिमार्फत मन्त्रालयले अहिलेलाई सबै प्रकारका आन्दोलन, धर्नाजस्ता क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

“यसवर्ष पानी जहाज निर्माण क्षेत्रतर्फ आवेदन दिएकाहरूलाई मागबमोजिम उत्पादनमूलक क्षेत्रतर्फको आवेदन गर्न सक्ने गरी आवश्यक निर्णयमा पुग्ने गरी वार्ता एवं तयारी भइरहेको हुँदा हाललाई सबै प्रकारका आन्दोलन, धर्ना जस्ता क्रियाकलापहरू नगर्नु हुन सम्बद्ध सबैलाई अनुरोध छ,” मन्त्रालयले भनेको छ ।

शुक्रबार बालकुमारीमा कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाहरूले गरेको प्रदर्शनका क्रममा दुईजनाको मृत्यु भएको थियो ।