ईपीएस कोरिया शाखाका निर्देशक र गोली हान्न आदेश दिने सुरक्षा अधिकारी निलम्बित

ईपीएस कोरिया शाखाका निर्देशक र गोली हान्न आदेश दिने सुरक्षा अधिकारी निलम्बित


ग्लोब नेपाल
54
Shares

काठमाडौं । सरकारले रोजगार अनुमति प्रणाली इपीएस कोरिया शाखाका कार्यकारी निर्देशक गुरुदत्त सुवेदी र बालकुमारीमा गोली चलाउन आदेश दिने सुरक्षा अधिकारी निलम्बित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इपीएस कार्यालयबाट केही कमजोरी भएको देखिएपछि उनहरुलाई जिम्मेवारीबाट हटाइएको जानकारी दिएका छन ।

शनिबारबाट काठमाण्डुमा शुरु भएको छैठौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री यस्तो बताएका हुन । उनले शुक्रबार भएको घटनामा गोली हान्न आदेश दिने प्रहरी अधिकारीलाई पनि छानबिन समितिको प्रतिवेदन नआएसम्मका लागि निलम्बन गरिएको जानकारी दिएका हुन्।

प्रहरी प्रधान कार्यालयबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत बोधराज दनुवार र ललितपुर प्रहरीका अपरेशन कमाण्डर डीएसपी उमेश लम्साललाई पनि निलम्बन गर्ने निर्णय भएको उनले जानकारी दिएका छन् । प्रधानमन्त्रीसँगको परामर्शपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा उनीहरूलाई निलम्बन गरिएको हो ।

ललितपुरको बालकुमारीमा शुक्रबार भएको उक्त घटनामा दुई जनाको ज्यान गएको थियो भने मन्त्री ज्वाला सवार सवारी साधनमा आगजनी भएको थियो । कोरियाली भाषा परीक्षाबाट आफूहरूलाई वञ्चित गरिएको भन्दै केही युवाले प्रदर्शन गरेका थिए । प्रदर्शनले हिंसात्मक रूप लिएपछि जनधनको क्षति भएको थियो ।