आर्मीलाई हराउँदै मधेश प्रदेश च्याम्पियन

आर्मीलाई हराउँदै मधेश प्रदेश च्याम्पियन



काठमाडौं । केपी ओली राष्ट्रिय टी–२० क्रिकेटको उपाधि मधेश प्रदेशले जितेको छ ।

पोखरा रंगशालामा भएकाे खेलमा बलियो र अनुभवी क्रिकेटरले भरिएको त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेश प्रदेश च्याम्पियन बनेको हो । टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ८ विकेट गुमाएर १३५ रन बनाएको थियो ।

जवाफ ब्याटिङमा आर्मीले ७ विकेटको क्षतिमा १२४ रन मात्रै बनाउन सक्यो ।

सोमपाल कामी १६ र विवेक यादव अविजित २५ रन बनाए पनि आर्मीलाई जित दिलाउन सकेनन् ।

आर्मीका कप्तान विनोद भण्डारीले ३२, सन्तोष कार्कीले १६, रोहित पौडेलले ५, राजेश बुढामगरले ३, बसिर अहमदले २, भीम सार्कीले २२ रन बनाएर आउट भए ।

बलिङतर्फ मधेसका कप्तान हरिशंकर शाहले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका शाहले १९ रन खर्चेर ४ विकेट लिएका हुन् । प्रदीप पासवान २ र प्रतीक यादव १ विकेट लिए ।

यसअघि पोखरा रंगशालास्थित क्रीकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । मधेसका विशाल पटेलले ४९, कप्तान हरिशंकर शाहले २७, अनिल शाह ६, इम्रान शेखले ८, पवन सराफले ९, हिमान्सु दत्तले १४, विशाल सुस्लिङले १०, प्रदीप पासवानले ४, मायन यादवले ३ रन बनाएका थिए ।

बलिङतर्फ आर्मीका साहब आलम र विवेक यादवले सर्वाधिक ३–३, सोमपाल कामी र बसिर अहमदले १–१ विकेट लिए ।

उपाधि जितेको मधेसले नगद ५ लाख हात पार्‍याे भने फाइनलमा मधेससंग पराजित भएको आर्मीले २ लाख ५० हजारमामा चित्त बुझायो ।