सुकुमबासीले गरे टीकापुर नगरपालिका घेराउ

सुकुमबासीले गरे टीकापुर नगरपालिका घेराउ



टीकापुर । भूमिहीन सुकुमबासीहरुले कैलालीको टीकापुर नगरपालिका घेराउ गरेका छन् । सुकुमबासीलाई निस्सा वितरणमा ढिलाइ गरेको भन्दै आन्दोलित भएका टीकापुर वडा नं. १ का भूमिहीन सुकुमबासीहरुले टीकापुर नगरपालिकाकाे केन्द्र घेराउ गरेका हुन् ।

शुक्रबारदेखि तत्काल निस्सा वितरण गर्नुपर्ने माग राख्दै नगरपालिकामा तालाबन्दी गरेका भूमिहीन सुकुमबासीहरुले नगरपालिकाले मागको सुनुवाई नगर्दै ताला खोलेको भन्दै आइतबार घेराउ गरेका छन् ।

नगरपालिकाले वडा नं. ६ मा सुकुमबासीहरुका लागि निस्सा वितरणको कार्य सुरु गरिसक्दा समेत वडा नं. १ मा निस्सा वितरण प्रक्रिया रोकिएको भन्दै उनीहरु आक्रोशित बनेका हुन् ।

अन्य वडामा सुरु भइसक्दा समेत वडा नं. १ मा निस्सा वितरण कार्य नभएकाले नगरपालिकामा तालाबन्दी गरेकोमा पालिकाले ताला खोलेपछि केन्द्र घेराउ गरिएको आन्दोलनका संयोजक पूर्णबहादुर खड्काले बताए ।

पालिका केन्द्रमा घेराउ गरिएपछि नगरपालिकाकाे कामकारवाही प्रभावित भएको छ ।