प्रा.डा. पोखरेललाई ‘नाट्यचार्य’ सम्मान

प्रा.डा. पोखरेललाई ‘नाट्यचार्य’ सम्मान


ग्लोब नेपाल
54
Shares

कास्की । नेपाल नाट्यअनुष्ठान पोखराका अध्यक्ष प्रा.डा. रामचन्द्र पोखरेललाई ‘नाट्यचार्य’ सम्मान प्राप्त भएको छ । असम (आसाम) नेपाली नाट्य सम्मेलन सन् २०२३ को अवसर पारेर प्रा.डा. पोखरेललाई उक्त सम्मान अर्पण गरिएको हो ।

सम्मेलन यही मंसिर ८, ९, १० र ११ मा भारतको असमस्थित सिमलगुढीमा भएको थियो । उनलाई नेपालमा रहेर नाटक लेखन, मञ्चन, निर्देशन, सम्पादन तथा सांगठनिक क्षेत्रमा आफ्नो मौलिक सृजना, लगनशीलता र परिश्रमद्वारा अमूल्य योगदान पुर्‍याउनु भएको भन्दै सम्मान गरिएको हो ।

त्यस अवसरमा भारतीय एकेडेमीका सदस्य ज्ञानबहादुर क्षत्री, सम्मेलनका अध्यक्ष चन्द्रमणि उपाध्याय, महासचिव नाट्यभूषण पूर्णकुमार शर्मा लगायतले सम्मान प्रदान गर्दै नाटकको क्षेत्र एवम् अध्ययनलाई थप फराकिलो बनाउनुपर्ने औँल्याए ।

त्यसका साथै प्रा.डा. पोखरेललाई दार्जीलिङ जर्नल पब्लिकेशनले ‘दार्जीलिङ जर्नल सम्मान’, मणि खवास स्मृति प्रतिष्ठान सिलगढीले ‘मणि खवास स्मृति प्रतिष्ठान सम्मान २०२३’ साथै सिलगढी नेपाली साहित्य प्रचार समितिले ‘नेपाली साहित्य प्रचार सम्मान २०२३’ पनि प्रदान गरेका छन् ।

ति संस्थाहरुले नाट्यसाहित्य कलामा निरन्तर योगदान पुर्‍याई नेपाली साहित्यको समालोचना र नाटकविद्यामा बहुमूल्य योगदान गर्नुभएको भन्दै प्रा.डा. पोखरेललाई सम्मान गरेका हुन् । यसैबीच नेपाल नाट्यअनुष्ठान पोखराको शाखाका रुपमा भारतीय नेपाली नाट्य अनुष्ठान गठन भएको छ । अनुष्ठानको अध्यक्षमा डा. विजय रुचाल (सिलगढी) चयन भए ।

उपाध्यक्षमा डा. सुकराज दियाली (सिलगढी), महासचिवमा जीके शर्मा (सिक्किम), सचिवमा खेम सापकोटा (सिलगढी) तथा कोषाध्यक्षमा प्रणिषा रुचाल सिलगढी छनोट भए । त्यस्तै राजु हिमांशु (खरसाङ) र उर्मिला घिसिङ (दार्जेलिङ) सदस्य छन् ।

भेलाले सीके श्रेष्ठ (कालेबुङ), सीपी शर्मा (सिक्किम), पूर्णकुमार शर्मा (असम), मुक्ति उपाध्याय वराल (असम), युवराज काफ्ले (सिलगढी), कृष्ण प्रधान (सिलगढी), नन्द हाङखिम (दार्जीलिङ), पी अर्जुन (दार्जीलिङ) लाई सल्लाहकारको जिम्मेवारी पनि दिएको छ ।

नवगठिन भारतीय नेपाली नाट्य अनुष्ठानको प्रमुख सल्लाहकारमा नेपाल नाट्यअनुष्ठान पोखराका अध्यक्ष रहने व्यवस्था छ ।