स्वचालित बधशाला सञ्चालनमा ल्याइदै

स्वचालित बधशाला सञ्चालनमा ल्याइदै


ग्लोब नेपाल
108
Shares

धादिङ । धुनीवेनी नगरपालिका–८ स्थित बाहुनडाँडामा स्वचालित बधशाला सञ्चालनमा ल्याइने भएको छ । गुणस्तरीय तथा स्वस्थकर मासु उत्पादन तथा विक्रि वितरण गर्ने उद्देश्यले ६५ करोड रुपैयाँ लगानीमा नुवाकोटका केशवराज थापाले बधशाला सञ्चालनमा ल्याउन लागेका हुन् ।

केवी एग्रो एण्ड रिर्सच प्रालिद्वारा सञ्चालनमा ल्याउन लागिएको बधशालाको तयारी अन्तिम चरणमा पुगेको सञ्चालक केशवराज थापाले बताए । बधशालामा दैनिक ३२ हजार दुई सय ४० कुखुरा बध गर्न सकिने छन् । ‘प्रतिघण्टा २ हजार ३० कुखुरा बध गर्न सकिन्छ ।

बधशालामा जिउँदो २० हजार कुखुरा राख्न सकिन्छ भने तयारी कुखुरा पाँच लाख केजी भण्डारण गर्न सकिन्छ । बधशाला यूरो मापदण्ड अनुसार सञ्चालन हुनेछ । खेर जाने हड्डी, रगत लगायतबाट कुखुराकै लागि दानामा प्रयोग गरिने प्रोटिन बनाइन्छ’, उनले भने ।

बधशालामा प्रयोग गरिएका मेसिनहरु टर्की, जर्मनी, इटाली, होल्याण्ड, पोल्याण्ड लगायतका देशहरुबाट ल्याइएका छन् । बधशाला निर्माणाधीन चरणमा छ । निकट भविष्यमै काम शुरु गर्ने योजना रहेको थापाले बताए ।

‘बध गर्न ल्याइएका कुखुराको स्वास्थ्य परिक्षण गरिन्छ । कुखुराहरु स्वस्थकर छन् भने मात्रै बध गर्न सिफारिस हुन्छन् । योग्य नभए कुखुराहरु फिर्ता गरिन्छ । कुखुराको स्वास्थ्य परिक्षण पछि गाडीसहित तौल गरेर बध गर्न पठाइन्छ । बधशालामा उत्पादन भएका मासुका परिकार गुणस्तरीय हुन्छ,’ उनले भने- ‘यसरी बध गरिएको मासुहरु काठमाण्डौ र आसपासका शहरहरुमा विक्रि गर्ने योजना छ । यस किसिमको बधशाला नेपालमा यो पहिलो हो ।’

‘यस बधशालामा तीन सय मानिसहरुले रोजगारी पाउने छन् । दक्ष प्राविधिक १० प्रतिशत र अन्य ९० प्रतिशतलाई रोजगारी दिइनेछ’, उनले भने– ‘बधशालाको लागि वार्षिक ६० लाख कुखुरा आवश्यक पर्छ । धादिङका किसानले मात्र त्यो माग थेग्न सक्दैनन् ।

धादिङ, नुवाकोट, काठमाण्डौ, सिन्धुपाल्चाोक, काभ्रेपलाञ्चोक, गोरखा, चितवन लगायतका जिल्लाहरुबाट कुखुरा आयात गर्छौं । प्रत्यक्ष रुपमा तीन सय जनाले रोजगारी पाएपनि अप्रत्यक्ष रुपमा २० हजार किसानले पनि रोजगारी पाउँछन् ।