सोती घटना : वादी/प्रतिवादीको बहस सकियो

सोती घटना : वादी/प्रतिवादीको बहस सकियो



रूकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा अन्तरजातीय प्रेम र विवाहको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दामा वादी/प्रतिवादी पक्षका वकिलहरूको बहस सकिएको छ ।

तीन वर्षअघि भएको घटनासँग सम्बन्धित कर्तव्य ज्यान र जातीय छुवाछुतको मुद्दामाथि रूकुम पश्चिमका जिल्ला न्यायाधीश खड्गबहादुर केसीको इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ चलेको थियो ।

मंगलबार मध्यान्हसम्म दुई दर्जनभन्दा धेरै वकिलहरूले बहस गरेका छन् । वादी र प्रतिवादी दुवै पक्षका वकिलहरूको बहस सकिएको अधिवक्ता मोहन शाशंकरले बताए । आजै बेलुकासम्म फैसला आउने उनले बताए ।

२०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोतीगाउँमा पुगेका थिए । त्यहीबेला उनीहरूमाथि सोती गाउँका स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराज विकसहित ६ जनाको ज्यान गएको थियो भने अरू १२ जना घाइते भएका थिए । मृत्यु भएका नवराज विकसहित उनका साथीहरूको शव दुई हप्तासम्म लगाएर भेरी नदी किनारबाट संकलन गरिएको थियो ।

घटनामा नवराज विकसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टिकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको ज्यान गएको थियो । नवराजका बुवा मुनलाल नेपालीको जाहेरीका आधारमा सो घटनामा चौरजहारी–८ का तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्धा चलेको छ । उनीहरूमध्ये ११ जना तारेखमा छुटेका थिए भने २३ जना पुर्पक्षका लागि कारागार चलान भएका थिए ।