टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा



काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइका लागि मंगलबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई चुनौती दिँदै दायर भएका विभिन्न रिट निवेदनका सम्बन्धमा सुनुवाइ गर्न सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलासमा पेसी तोकिएको थियो । तर, इजलासले टिकटकमाथिको प्रतिबन्धविरुद्धका सबै रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।

२७ कातिकमा सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सामाजिक सद्भाव बिथोलिन थालेको भन्दै सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउनुपरेको बताउँदै आएको छ ।

सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १४ वटा रिट दर्ता भएका थिए । ती रिटहरुमाथि मंसिर ५ गते भएको सुनुवाइको क्रममा कारण देखाउ आदेश जारी गर्दै सर्वोच्चले आज (मंगलबार)का लागि पूर्ण सुनुवाइको मिति तोकिएको थियो ।

न्यायाधीश विनोद शर्माको इजलासले मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश गरेको थियो ।