सोती घटनामा संलग्न २४ जनालाई जन्मकैदको सजाय

सोती घटनामा संलग्न २४ जनालाई जन्मकैदको सजाय

नवराजकी प्रेमिका, उनकी आमा र दाजुलाई दुई वर्ष कैद



रुकुम पश्चिम । रुकुम पश्चिमको सोती घटना प्रकरणमा थुनामा रहेका २३ जना र बाहिर रहेका १ जना गरि २४ जनालाई जन्मकैदको फैसला सुनाएको छ । मंगलबार रुकुम जिल्ला अदालतले हत्यामा संलग्न रहेका २४ जनालाई जन्मकैदको फैसला सुनाएको हो । यस्तै अदालतले ८ जनालाई सफाइ दिएको छ ।

रुकुम जिल्ला अदालतका न्यायाधीश खड्क बहादुर केसीको इजलासले नवराज विककी प्रेमिका, उनकी आमा र दाजुलाई भने जातीय छुवाछुतमा दुई वर्ष कैदको फैसला भएको अदालतकी स्रेस्तेदार मन्दिरा शाहीले जानकारी दिइन् ।

६ युवाको सामूहिक हत्या गरिएको उक्त मुद्दामा ३४ जनालाई प्रतिवादी बनाइएको थियो । जाहेरवाला र सरकारी वकिलतर्फका १५ र प्रतिवादीतर्फका ६ वकिलले बहस गरेका थिए ।

२०७७ जेठ १० मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ मा पर्ने सोतीमा ६ जना युवाको हत्या भएको थियो । प्रेमिका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम गएका नवराज विक तथा उनका साथीहरूको समूहलाई सोतीका स्थानीयले कुटपिटबाट हत्या गरी सेती नदीमा बगाइदिएको आरोपमा नेपाल सरकारले ३४ जनाविरुद्ध मुद्दा चलाएको थियाे ।

२०७७ साल जेठ ३२ मा रुकुम पश्चिम जिल्ला अदालतमा दर्ता भएको मुद्दामा प्रतिवादीको संख्या बढी हुँदा सुनुवाइमा लामो समय लागेको हो ।