दाङ जिल्लामा सिमा स्तम्भ मर्मत गरिँदै

दाङ जिल्लामा सिमा स्तम्भ मर्मत गरिँदै


ग्लोब नेपाल
54
Shares

दाङ । नेपाल भारत सिमा क्षेत्र अन्तरगत दाङ जिल्लामा सिमा स्तम्भ मर्मतको काम सुरु भएको छ । दाङ खण्ड स्थित ८३ किलोमिटरमा ७७ वटा सिमा स्तम्भ रहेका छन् । जस मध्य भारतले जोड नम्बरका र नेपालले विजोड नम्बरका सिमा स्तम्भ मर्मत गर्न थालेका हुन ।

भारतले सिमा स्तम्भ मर्मतको काम सकिसकेको छ भने नेपालले सिमा स्तम्भ मर्मतको काम सुरु गरेको नेपाल सशस्त्र प्रहरी बल २९ नम्बर मुख्यालय ज्वालामाई गण भालुबाङका प्रमुख एसपी गोपालप्रसाद श्रेष्ठले जानकारी दिए । सिमा स्तम्भ मर्मत, रंगरोहन गर्ने काम हुने छ । यस आर्थिक बर्षमा जिल्ला भित्रका ३५ वटा सिमा स्तम्भ रंगरोकन र सामान्य मर्मत गरिँदैछ ।

३१ वटा सिमा स्तम्भ रंगरोहन र ४ वटा सिमा स्तम्भमा २५ प्रतिशत क्षती भएकाले त्यसको मर्मत गरिने छ । गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल, नापी विभागका नापी अधिकृत पवनकुमार खत्री, सशस्त्र प्रहरीका एसपी गोपाल प्रसाद श्रेष्ठ, भारतीय सिमा सुरक्षा बल एसएसवीका बलरामपुर जिल्ला प्रमुख डिएसपी तेजकुमार लगायतको उपस्थिति थियो ।

गढवा गाउँपालिका–८ कोईलावासमा रहेको नेपाल–भारत छुट्याउने सिमा स्तम्भ रङरोहन गरेर मर्मत कार्य सुरु गरिएको हो । २०७७ साल साउन १९ गते बसेको मन्त्रीपरिषद् बैठकले नेपाल सरकारले मर्मत गर्नुपर्ने सिमास्तम्भको जिम्मेवारी सशस्त्र प्रहरी बललाई सुम्पिएको थियो ।

सोही निर्णयको आधारमा पाँच बर्ष पछी पहिलो पटक सिमा स्तम्भ मर्मतको काम हुदै छ । लुम्बिनी प्रदेश भित्र पर्ने तराईका अन्य जिल्लाहरुमा समेत सिमा स्तम्भ मर्मतका काम चलिरहेको हो । यस अघि नापी विभागबाट सिमा स्तम्भ मर्मत गरिन्थ्यो । यसपटक मर्मतको जिम्मा सशस्त्र प्रहरीलाई दिइएको छ ।

दाङ खण्डमा भारतका दुई जिल्लाको सिमा क्षेत्र पर्छ । ६३ किलोमिटर क्षेत्र भारतको वलरामपुर र २० किलोमिटर सरावस्ती जिल्लाको क्षेत्र पर्दछ । दाङको पूर्वमा कपिलवस्तु र पश्चिममा बाँके जिल्ला संग सिमा जोडिएको छ । जिल्लामा मुख्य र सहायक गरी दुई प्रकारका मात्रै सीमा स्तम्भ छन् । मुख्य स्तम्भ ३७ वटा र ४० वटा सहायक स्तम्भ छन् । २०७४ साल तिर यीमध्ये अहिले ६७ वटा स्तम्भ जीर्ण थिए ।

ती सीमा स्तम्भ उतिबेला मर्मत गरेर तयार पारिएको थियो । ६०१ नम्बरको स्तम्भ पुनर्निर्माण गरिएको थियो भने ४८ नम्बरको स्तम्भ खोलाले बगाएको थियो । अहिले सम्म खोलाले बगाएको स्तम्भ निर्माण गर्न सकिएको छैन् । सीमा क्षेत्रमा तीन प्रकारका स्तम्भ वनाइएका छन् । मुख्य स्तम्भ जग्गे पिल्लर, मध्यम खालको सहायक स्तम्भ र सानो आकारको रहेका छन् ।