विराटनगर आगलागी : दुईको मृत्यु, चार जनालाई सेनाको स्काई ट्रकमा काठमाडौं पठाइयो

विराटनगर आगलागी : दुईको मृत्यु, चार जनालाई सेनाको स्काई ट्रकमा काठमाडौं पठाइयो



विराटनगर । विराटनगरको सातघुम्तीमा रहेको कवाडी गोदाममा आज भएको आगलागीमा परेर गम्भीर घाइते चार जनालाई उपचारका लागि काठमाडौं लगिएको छ । घाइतेमध्ये एक जनाको अस्पतालमा र अर्का एकको घटनास्थलमै मृत्यु भएको छ ।

घाइते चारै जनालाई उपचारका लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जन दाहालले जानकारी दिए । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई गृह मन्त्रालयले नेपाली सेनाको स्काई ट्रक पठाएपछि काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको हो ।

आगलागीमा परी विराटनगर–६ की ६० वर्षीया रीता सरदार, विराटनगर–६ कै ६५ वर्षीया सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिंकी कामत र विराटनगर–६ का ५८ वर्षीय किशोर कामत घाइते भएका छन् । प्रहरीका अनुसार रीता र सुशीलाको अवस्था गम्भीर छ ।

कवाडी गोदाममा दिउँसो २ः१५ बजेतिर एक्कासि आगलागी भएको थियो ।

उक्त गोदाम विराटनगर ६ का दीपक मण्डलको हो । घटनामा घाइते भएका उनको उपचारको क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको हो ।

आगलागीमा परी अर्का एक जनाको गोदाममै मृत्यु भएको छ । ती मृतकको सनाखत हुन बाँकी छ ।