काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटबारे छलफल गर्न प्रमुख दलका शीर्ष नेताको बैठक आज बिहीबार पनि बस्दैछ । हिजाे बुधबार राति पनि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो ।
राष्ट्रियसभामा एमालेका ९ सांसदको पदावधि सकिँदैछ । ९ मध्ये ३ सिट एमालेलाई दिन र बाँकी सिटमा सत्ता गठबन्धनभित्र बाँडफाँट गर्न देउवा–प्रचण्ड राजी भइसकेको बालुवाटार श्रोतले जनाएको छ । राष्ट्रियसभा सदस्यका लागि आगाम ११ माघमा निर्वाचन हुँदैछ ।
शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पु-याउन सहमत भएका एमालेलाई राष्ट्रियसभामा भाग दिन माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा तयार भएका हुन् ।
तर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने एमालेलाई भाग दिनुपर्ने पक्षमा सकारात्मक छैनन् । आगामी २० फागुनमा राष्ट्रियसभाका २० सदस्यको कार्यकाल सकँदैछ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको चुनावी कार्यतालिका अनुसार २३ पुसमा उम्मेदवारको मनोनयन गर्दा हुनेछ । सातै प्रदेशमा सत्तारुढ गठबन्धनको अत्याधिक मतभार रहेकाले सहमति नगरिए एमालेले ९ मध्ये सबै सिट गुमाउने निश्चितजस्तै छ ।


प्रतिक्रिया