विद्युत् निर्यातसम्बन्धी सम्झौता विद्युत् व्यापारमा कोशेढुंगा : प्रधानमन्त्री

विद्युत् निर्यातसम्बन्धी सम्झौता विद्युत् व्यापारमा कोशेढुंगा : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीच भएको बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सम्झौता विद्युत् व्यापारका दृष्टिले कोशेढुंगा भएको बताएका छन् ।

रामेछापको सुनापति गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्रीले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएको सो सहमतिले नेपालको ऊर्जा व्यापारका क्षेत्रमा गुणात्मक फड्को मार्ने विश्वास व्यक्त गरे ।

आफ्नो भारत भ्रमणका क्रममा दश वर्षमा दश हजार मेगावाट विद्युत् भारतलाई बिक्री गर्ने सम्झौता भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आजको सहमतिसँगै विद्युत् निर्यात गर्ने बाटो खुलेको बताए । “यो आफैँमा उपलब्धि हो, भारतमा मात्रै होइन, बंगलादेशमासमेत विद्युत् निर्यातको ढोका खुलेको छ”, उनले भने, “अब भारतको ग्रीड प्रयोग गरी बंगलादेशसँग विद्युत् व्यापार हुनेछ ।”

प्रधानमन्त्री दाहालले सुनापति गाउँपालिकाले भौतिक विकासमा राम्रो प्रगति गरेको उल्लेख गर्दै सेवा प्रवाह, शिक्षा, स्वास्थ्यको विकास, कृषि, पर्यटनको प्रवद्र्धन र रोजगारी सिर्जनामा केन्द्रित हुन जनप्रतिनिधिलाई अपिल गरे ।

शान्तिपूर्ण क्रान्ति जारी

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका दाहालले आजै रामेछापको बेथान पानीघाटमा आयोजित कार्यक्रममा जनयुद्धको शान्तिपूर्ण रूपान्तरणसँगै क्रान्तिको स्वरूप फेरिएको बताए । उनले भने, “हामी अहिले पनि क्रान्तिमै छौँ क्रान्ति सकिएको छैन, तर क्रान्तिको स्वरूप फेरिएको छ ।”

अध्यक्ष दाहालले समाजवाद स्थापनाका लागि सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित वर्तमान सरकार अघि बढिरहेको बताए । कार्यक्रममा प्रधानमन्त्री दाहालले बेथानका शहीद तीर्थ गौतम, फत्तबहादुर स्माली मगर र दिलमाया बम्जनका परिवारजनलाई सम्मान गरेका थिए । सो अवसरमा अध्यक्ष दाहालले शहीद स्मारकको उद्घाटन गरेका थिए ।