कांग्रेसमा प्रचण्डको हुकुमत

कांग्रेसमा प्रचण्डको हुकुमत



पालोफेरो प्रधानमन्त्री बन्ने सहमति कार्यान्वयन हुँदैन कि भन्ने भय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामा देखियो । सभापति देउवाको यो भयमा राजनीतिका चतुर खेलाडी प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राम्रैसँग खेल्न पाएको देखियो। राष्ट्रियसभाको निर्वाचन यसको ताजा प्रमाण हो ।

राष्ट्रियसभा निर्वाचनमा खुला प्रतिस्पर्धा गर्ने हो भने कांग्रेस एक्लैले १७ सिट जित्न सक्ने तथ्यांकले देखाउँछ । कोशी प्रदेशको दुई सिटमा एमाले विजयी हुनसक्छ । यो रेसमा ललिपप देखाएर एमालेको बद्नाम गर्न प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड सफल भएका छन् ।

राष्ट्रियसभाको निर्वाचनबाट माओवादीले दोहोरो फाइदा उठाएको छ । एमाले देखाएर कांग्रेस तर्साउन प्रधानमन्त्री दाहाल सफल भएका छन् भने एक सिट जित्ने हैसियत नभएको माओवादीका ६ जना उम्मेदवारलाई जिताउन कांग्रेसलाई बाध्य पारिएको छ । उता राष्ट्रिय सभाको सांसद पद देखाएर एमालेलाई टिआरसी विधेयकसँग जोडेर बद्नामसमेत गरिएको छ ।

प्रधानमन्त्री दाहालको षड्यन्त्र बेलैमा बुझेर एमाले रेसबाट बाहिरियो । यसले थोरै एमालेलाई ड्यामेज भने ग-यो । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७९’ (टिआरसी विधेयक) मा राष्ट्रिय सभा सदस्य पद एमालेले साट्न खोजेको चर्चाले धेरैलाई चकित पारेको थियो ।

राष्ट्रियसभा निर्वाचनमा एमालेलाई साथै लैजाने बहानामा कांग्रेसलाई तर्साएर एक सिट जित्ने हैसियत नभएको माओवादीले ६ जना उम्मेदवार बनाउन सफल भएको छ । यी सबै कांग्रेसको मतबाट विजयी हुनेछन् । यो अवस्था कांग्रेस पार्टी सभापति देउवाको भयबाट प्रेरित छ भन्ने कुरा घामझै छर्लङ छ ।

प्रधानमन्त्री प्रचण्ड निर्वाचनमा मात्र सीमित छैनन्, राष्ट्रियसभा अध्यक्ष कसलाई बनाउने भन्ने कुरामा समेत चासो राखेका छन् । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभामा अध्यक्ष बनाउन मात्र होइन, राष्ट्रपतिबाट मनोनित सांसदमा समेत प्रचण्डले भूमिका खेलेका छन् ।

हेर्नुस तथ्यांक यस्तो छ–
अहिलेको राष्ट्रियसभाको निर्वाचनमा ५७ हजार ७ सय ६४ मतभार छ । यसमध्ये २१ हजार २ सय २६ मतभार कांग्रेससँग छ भने १६ हजार ९ सय ७२ मत भार एमालेसँग छ । ९ हजार १ सय ३० मतभार माओवादीसँग छ । १९ जना निर्वाचित हुने स्थानमा कांग्रेसले १० वटा लिएर अरु बाँडेको छ ।

निर्वाचन आयोगले यसअघि प्रदेशसभा सदस्यको मतभार ४८ कायम गरेकोमा अहिले बढेर ५३ पुगेको छ भने स्थानीय तहका पालिका प्रमुख र उपप्रमुखको मतभार १८ रहेकोमा १९ पुगेको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि सात प्रदेशका ५ सय ५० प्रदेश सांसद र ७ सय ५३ स्थानीय तहका १ हजार ५ सय ६ जना प्रमुख तथा उपप्रमुख मतदाता छन् । नयाँ कायम मतभारअनुसार प्रदेश सांसद कुल मतभार २९ हजार १ सय ५० रहेको छ भने स्थानीय तहका जनप्रतिनिधिको मतभार २८ हजार ६ सय १४ रहेको छ । दुवै मिलाउँदा ५७ हजार ७ सय ६४ मतभार हुन्छ ।

कोशी प्रदेशमा स्थानीय तहका २ सय ७४ र प्रदेशका ९३ सांसद गरी कुल ३ सय ६७ मतदाता रहेका छन् । कोशीमा १० हजार १ सय ३५ मतभार छ । यो प्रदेशमा एमालेको कुल मतभार ४ हजार २ सय १० रहेको छ । कांग्रेसको कुल मतभार ३ हजार ७ सय २२ मतभार रहेको छ भने माओवादी केन्द्रको १ हजार २ सय ७८ रहेको छ ।

मधेस प्रदेशमा १ सय ७ प्रदेश सांसदको ५ हजार ६ सय ७१ मत र स्थानीय तहका २ सय ७२ जनप्रतिनिधिको ५ हजार १ सय ६८ गरी १० हजार ८ सय ३९ मत रहेको छ । मधेस प्रदेशमा एमालेको कुल २ हजार ३ सय २ मतभार, कांग्रेसको ३ हजार १ सय ४ र माओवादीको ७ सय ६६ मतभार रहेको छ ।

बाग्मती प्रदेशमा कुल प्रदेश सांसद १ सय १० को ५ हजार ८ सय ३० मतभार, स्थानीय तहका २ सय ३८ जनप्रतिनिधिको ४ हजार ५ सय २२ मतभार गरी कुल १० हजार ३ सय ५२ मतभार रहेको छ । यो प्रदेशमा कांग्रेसको कुल मतभार ४ हजार १३, एमालको २ हजार ५ सय ७१, माओवादीको २ हजार १ सय ९६ मतभार रहेको छ ।

गण्डकी प्रदेशमा प्रदेशसभा सदस्य ६० जनाको मतभार ३ हजार १ सय ८० र स्थानीय तहका १ हजार ७ सय ९ जनप्रतिनिधिको मतभार ३ हजार २ सय ३० गरी कुल ६ हजार ४ सय १० रहेको छ । गण्डकी प्रदेशमा कांग्रेसको २ हजार ७ सय ४, एमालेको २ हजार ४ सय ५८, माओवादीको ९ सय ४१ मतभार रहेको छ ।

लुम्बिनी प्रदेशमा ८७ जना प्रदेशसभा सदस्यको ४ हजार ६ सय ११ मतभार र स्थानीय तहका २ सय १८ जनप्रतिनिधिको ४ हजार १ सय ४२ मतभार गरी कुल ८ हजार ७ सय ५३ मतभार रहेको छ । यो प्रदेशमा एमालेको २ हजार ८ सय १०, कांग्रेसको ३ हजार १ सय ७९, माओवादीको १ हजार २ सय ३७ मतभार रहेको छ ।

कर्णाली प्रदेशमा कुल प्रदेश सभा सदस्य ४९ जनाको २ हजार १ सय २० मतभार रहेको छ भने १ सय ५८ जना स्थानीय तहका जनप्रतिनिधिको ३ हजार २ मतभार गरी कुल ५ हजार १ सय २२ मतभार रहेको छ । यो प्रदेशमा कांग्रेसको १ हजार ८ सय ६३ मतभार रहेको छ भने माओवादीको १ हजार ६ सय ५४, एमालेको १ हजार १ सय ४२ मतभार रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा कुल ५३ जना प्रदेशसभा सदस्यको २ हजार ८ सय ९ मतभार रहेको छ भने १ सय ७६ स्थानीय तहका जनप्रतिनिधिको ३ हजार ३ सय ३४ मतभार गरी ६ हजार १ सय ५३ मतभार रहेको छ । कांग्रेसको २ हजार ६ सय ४१ मतभार रहेको छ भने माओवादीको १ हजार ५८, एमालेको १ हजार ४ सय ८० मतभार रहेको छ ।