चितवनमा बोरामा भेटिएको दुई शवको सनाखत

चितवनमा बोरामा भेटिएको दुई शवको सनाखत



चितवन । चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएको दुई वटा शवको सनाखत भएको छ । मंसिर ६ मा भरतपुर महानगरपालिका–१२ स्थित मिलन चोकमा महिला र पुरुषको शव भेटिएको थियो ।

मृतकहरूको पहिचान खुलेको केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख किरण बज्राचार्यले बताइन् । मृतक दुवै जना भारतीय हुन् । चितवनभन्दा बाहिर हत्यापछि भरतपुरमा ल्याएर शव फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानकाे निष्कर्ष छ । उनीहरुको हत्या पनि भारतीय नागरिकले नै गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न आरोपीबारे केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अनुसन्धान गरिरहेको छ ।

भारत मोतिहारीका उनीहरु चितवनको भरतपुरमा व्यापार गरेर बस्ने गरेका थिए । उनीहरुको हात, खुट्टा र घाँटी डोरीले बाँधेर हत्या गरी कल्भर्ट मुनि फालिएको अवस्थामा शव भेटिएको थियो ।

हत्या विवाहेतर सम्बन्धका कारण भएको खुलेको छ । मृतक महिलाका श्रीमान्ले नै उनीहरूको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

शवको पहिचान लामो समयसम्म नभएपछि प्रहरीले पहिलोपटक हुलिया र दोस्रोपटक उनीहरुको स्केच सार्वजनिक गरेको थियो ।

अनुसन्धानको क्रममा शवको ३ हप्ता अघि नै पहिचान खुलेको र हत्यामा संलग्न व्यक्ति भारतमै अर्को एक हत्यामा संलग्न भएकाले प्रहरी नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ । सोही कारण हत्या गर्ने व्यक्तिलाई नेपाल ल्याउन नमिलेको र नेपाल प्रहरीको एक टोली भारतको बिहार नै पुगेर हत्या गर्ने पुरुषसँग वयान लिएको जानकारी दिएकाे छ ।