काठमाडौँ । नेपालमा पहिलोपटक कोरोनाको नयाँ सब भेरियन्ट जेएन.१ भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्तिमार्फत नेपालमा पहिलोपटक सातजनामा जेएन.१ को संक्रमण भेटिएको जनाएको हो ।
देशका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित १६ वटा नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको जिन सिक्युन्सिङमा सातजनामा नयाँ सब भेरियन्ट पाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जनाएका छन् ।
संक्रमणको फैलावट रोकथामका लागि सबै जनस्वास्थ्यको मापदण्डहरू ( भिडभाडमा नजान, भौतिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न, र साबुन पानीले हात धुन) अनिवार्य रूपमा पालना गर्न गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबैमा अपिल गरेको छ ।
हाल विश्वका केही देशहरुमा कोभिड – १९ सङ्क्रमण ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन. १ को जोखिम बढिरहेको र छिमेकी देशहरुमा पनि सङ्क्रमण फैलिरहेकाले मन्त्रालयले आवश्यक निगरानी एवं सम्बन्धित देशहरूसँग समन्वय गरिरहेको छ ।
प्रतिक्रिया