काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको बाँकी बक्यौता कुनै पनि हालतमा उठाएरै छाड्ने बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको आजको बैठकमा प्राधिकरणलाई उक्त बक्यौता जसरी पनि उठाउन निर्देशन रहेकाले कुनै पनि हालतमा बक्यौता उठाएरै छाड्ने बताएका हुन् ।
“हामीलाई सबै पक्षबाट डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन निर्देशन आएको छ, हामी उठाएरै छाड्छौँ,” उनले भने, “हामीलाई निर्देशन आएअनुसार नै काम गर्ने हो ।”
सो विषयमा धेरै उद्योगी अदालत गए पनि प्राधिकरणको पक्षमा फैसला भएको उनले बताए । “२३/२४ वटा उद्योगको लाइन काटिएको छ,” उनले भने, “अदालतले पनि प्रस्ट भनेको छ, छुटेको बिल जुनसुकै बेला काट्न मिल्छ ।”
यसअघि संसद्को लेखा समितिको बैठकले १ महिनाभित्र प्राधिकरणले बिल जारी गर्ने र ६० दिनभित्र असुलउपर नभएमा लाइन काटेर अघि बढ्न स्पष्ट निर्देशन दिएको घिसिङले उल्लेख गरे ।
प्राधिकरणले पटक-पटक समय दिएर बिल भुक्तानीका लागि आउन भनेर जानकारी गराए पनि उद्योगीहरु भुक्तानीका लागि नआएको उनको भनाइ छ ।
धेरै मिटरहरुको टीओडी डाटा डाउनलोड गरेर राखिएको र केही छुटेकाहरु पनि हेर्न सकिने घिसिङले बताए ।


प्रतिक्रिया