न्याय सेवाका २१९ कर्मचारीको एकैपटक सरुवा, ५० जनाको बढुवा (सूचीसहित)

न्याय सेवाका २१९ कर्मचारीको एकैपटक सरुवा, ५० जनाको बढुवा (सूचीसहित)



काठमाडौँ । न्याय सेवा आयोगले एकैपटक दुई सय १९ जना कर्मचारीको सरुवा गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको आजको बैठकले अदालतका सात उपसचिवसहित दुई सय १९ जना कर्मचारीको सरुवा गरी जिम्मेवारी हेरफेर गरेको हो ।

आयोगमा प्रधानन्यायाधीश श्रेष्ठ अध्यक्ष रहने व्यवस्था छ । सदस्यमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा, लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता दिनमणि पोखरेल छन् ।

आयोगले उच्च अदालत पोखरा, दिपायल, विराटनगरसँगै जिल्ला अदालतहरू सिन्धुपाल्चोक, महोत्तरी, नुवाकोट लगायत कार्यालयहरूमा न्याय सेवाका कर्मचारी सरुवा गरेको हो ।

आयोगले कानुन समूहका अर्जुन प्रसाद खनाल र राजन नेपाललाई कानुन समूह राप्र प्रथम श्रेणी सहसचिव वा सो सरहमा बढुवा गरेको छ । त्यस्तै सरकारी वकिल तर्फ रुद्र प्रसाद पन्थी र उमाकान्त पौडेललाई राप्र प्रथम श्रेणी सहसचिव वा सो सरहमा बढुवा गरेको छ ।

आयोगले न्याय समूहका उपसचिव वा सो सरहका पदमा १४ जनाको बढुवा गरेको छ भने कानुन समूहका तीन जना र सरकारी वकिल समूहका ६ जनलाई उपसचिव सरहमा बढुवा गरेको छ ।