रामबहादुर बम्जनको घरबाट ३ करोड ३४ लाख रुपैयाँ बरामद

रामबहादुर बम्जनको घरबाट ३ करोड ३४ लाख रुपैयाँ बरामद



काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठबाट पक्राउ परेका तपस्वी रामबहादुर बम्जनको घरबाट प्रहरीले ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको छ । यो पैसामाथि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

सर्लाहीकी एक अनुयायीमाथि बाल यौन दूराचार गरेको आरोप लागेपछि जिल्ला अदालत सर्लाहीले उनीविरुद्ध २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो । तर प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन ।

मंगलबार सीआईबीले उनी बसेको बुढानीलकण्ठस्थित घरमा छापा मारेको थियो । त्यस क्रममा उनी २ तला माथिबाट हामफालेर भाग्ने प्रयास गरे पनि सफल हुन सकेनन् ।

सीआईबीले बम्जनलाई जिल्ला अदालत सर्लाहीमा उपस्थित गराउने तयारी गरेको छ ।

सीआईबीले बमजनको आश्रमबाट ४ अनुयायी बेपत्ता भएको जनाएको छ । उनीहरु विभिन्न मितिमा बम्जनको आश्रमबाट हराएको उजुरी प्राप्त भएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

सीआईबीले उनलाई पक्राउ गर्न ‘अप्रेसन ब्लु’ चलाएको थियो । बमजन विगत २ महिनादेखि हात्तिगौँडामा परिवारसँग रहेको प्रहरीको दाबी छ ।