डीआरको खोक्पा कथा संग्रह सार्वजनिक

डीआरको खोक्पा कथा संग्रह सार्वजनिक


ग्लोब नेपाल
459
Shares

काठमाडौँ । लेखक दिनेशकुमार राई (डीआर) को पछिल्लो कृति खोक्पा सार्वजनिक भएको छ । डीआरको ‘खोक्पा’कथासंग्रह हालै राजधानीमा आयोजित एक कार्यकामकाबीच विमोचन गरी सार्वजनिक गरिएको हो ।

पेज टर्नर प्रालिका अध्यक्ष भुवनहरि सिग्देल, प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, वरिष्ठ समालोचक महेश पौड्याल, सञ्चारकर्मी हेम भण्डारी, समालोचक निमग्ना घिमिरेले तथा लेखक डिआरले संयुक्त रूपमा उक्त कृतिको विमोचन गरेका हुन् ।

पूर्वी नेपालमा मिथक मानिने खोक्पालाई टाइटल बनाएर कथासंग्रह तयार पारिएको छ । यसमा ११ वटा कथा समावेश छन्। यस संग्रहमा जेष्ठ नागरिकले भोग्ने दुःख, वैदेशिक रोजगारीले परिवार र सम्बन्धमा पारेको असर, पर्यावरणलगायत विभिन्न विषयवस्तु केन्द्रीत कथाहरु छन् ।

पुस्तकमा संग्रहित ‘बुढो रुख’ कथाले प्रकृति र मानवको तुलना गर्दै बुढेसकालको एक्लो जीवनलाई चित्रण गरेको छ। ‘हराएको नाता’ कथामा जीवनको अन्तिम अवस्थामा छोराबुहारीले आमालाई छाडेर विदेश गएको मार्मिक प्रसँग छ । त्यसैगरी ‘नयाँ बाकस’ शीर्षक कथामा वैदेशिक रोजगारीमा गएको बाबुले छोरीलाई ल्याइदिएको नयाँ बाकसभित्रको उपहारलाई विषय बनाइएको छ ।

डिआरका अन्य कृति लोकप्रिय छन् । उनका नयाँ मोडहरू (गीतसंग्रह २०६३), कान्तिपुरदेखि सन्दकपुरसम्म (यात्रा संस्मरण २०६६) , आत्मभाव (गीतसंग्रह २०७२), तिलस्मी (उपन्यास २०७५), सेन्टोसा (यात्रा संस्मरण २०७७), समयको डोब (अनुभव र अनुभूति २०७७), स्प्राउड अन द रक (तिलस्मी उपन्यासको अनुवाद २०७८) लगायतका कृति सार्वजनिक भइसकेका छन् ।