काठमाडौँ । प्रहरीले २१ वर्षअघि श्रीमतीको हत्या गरी फरार एक व्यक्तिलाई पक्राउ गरेकाे छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले धादिङको ज्वालामुखी गाउँपालिका-१का ७० वर्षे सूर्यप्रसाद दवाडीलाई पक्राउ गरेको हो ।
उनलाई विशेष सूचनाको आधारमा माघ १ गते रुपन्देहीको बेलहियाबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
पक्राउ परेका उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार जगनाथदेवल पठाइएको प्रहरीले जनाएको छ ।
२०५९ फागुन ८ गते सानुमाया दवाडीको घाँटी कसेर हत्या भएको थियो । अदालतबाट सर्वस्वसहित जन्मकैद सजाय भएका सूर्यप्रसाद लामो समयसम्म पक्राउ पर्न सकेका थिएनन् ।
सूर्यप्रसादले हत्या गरेपछि श्रीमतीलाई झुन्ड्याएको र आत्महत्या गरे जस्तो देखाएको अनुसन्धानबाट खुलेको थियो । सानुमायाको अन्त्येष्टिपछि प्रहरीले अनुसन्धान गरी उनको हत्या भएको दाबी गरेको थियो ।
जिल्ला अदालतले गरेको फैसला उच्च अदालतले उल्ट्याएपछि सर्वोच्च अदालतले २०६७ साल माघ ३ गते जिल्लाकै फैसला सदर गरेको थियो । सूर्यप्रसाद लामो समयदेखि भारतमा बस्दै आएकाे प्रहरीले जानकारी दिएकाे छ ।


प्रतिक्रिया