काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशको समीकरण यसपटक पनि रोचक हुने देखिएको छ । दुई वर्षअघि कोशी प्रदेश तीनजना निर्वाचित भएका थिए, जसमा दुईजना गठबन्धन र एकजना एमालेबाट निर्वाचित भएका थिए ।
कोशी प्रदेशबाट यसपटक दुईजना निर्वाचित हुने छन् भने चुनावी मैदानमा पाँचजना उम्मेदवार छन् । गठबन्धनबाट र एमालेबाट २–२ जना र राप्रपाबाट एकजना उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुन् ।
निर्वाचन आयोगले यसअघि प्रदेश सभा सदस्यको मतभार ५३ र प्रमुख र उपप्रमुखको मतभार १९ कायम गरेको छ । कोशीको स्थानीय तहमा २ सय ७४ र प्रदेशका ९३ सांसद गरी कुल ३ सय ६७ मतदाता छन् । स्थानीय तहको ५ हजार २ सय ६ र प्रदेश सभा सदस्यको ४ हजार ९ सय २९ गरी कूल मतभार १० हजार १ सय ३५ मतभार छ ।
कूल मतभारमध्ये कांग्रेससँग ३ हजार ७ सय २२, माओवादी केन्द्रसँग १ हजार २ सय ७८, एकीकृत समाजवादीसँग ३ सय ४५ र जनता समाजवादीसँग १ सय २९ मतभार छ । अर्थात् सत्तारुढ गठबन्धनसँग ५ हजार ४ सय ७४ मतभार छ ।
यता एमालेसँग ४ हजार २ सय १०, राप्रपासँग ३ सय ९४ र स्वतन्त्रसँग ५७ मतभार छ । अर्थात् गठबन्धनइतरसँग ४ हजार ६ सय ६१ मतभार छ । गठबन्धन र गठबन्धनइतरको फरक मतभार ८ सय १३ हो ।

दुई वर्षअघि भएको निर्वाचनमा कोशी प्रदेशमा ९ हजार १ सय ६२ मतभार थियो । गठबन्धनसँग ४ हजार ६ सय ६८ र गठबन्धनइतरसँग ४ हजार ४ सय ९४ मतभार थियो । यो दुई समूहबीच १ सय ७४ मतभार अन्तर थियो । यो मतभारको तथ्यांकअनुसार गठबन्धनले तीनवटै सिट सहजै जित्नुपर्ने थियो । तर एउटा मात्र सहजै जित्यो, एउटामा पराजित भयो भने एउटा गोलाप्रथामा जितेको हो ।
गठबन्धनबाट कांग्रेसका गोपाल बस्नेत, संघीय समाजवादीबाट जयन्ती राई र जनता समाजवादीबाट हेमराज राई उम्मेदवार बनेका थिए । एमालेबाट गुरु बराल, सुमित्रा भण्डारी र सोनाम ग्लाजेन शेर्पा उम्मेदवार भएका थिए ।
अपांगता कोटाबाट उम्मेदवार बनेका सोलुखुम्बु एमालेका उम्मेदवार सोनाम ग्लाजेन शेर्पा निर्वाचित भएका थिए भने भोजपुरकी जयन्ती राई गठबन्धनबाट निर्वाचित भएकी थिइन् । गठबन्धनका उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार गुरु बरालबीच मत बराबरी भएको थियो । गोलाप्रथाबाट बस्नेत निर्वाचित भएका हुन् । गठबन्धनका उम्मेदवार हेमराज राई भने पराजित भए ।
भाग्यले पनि साथ नदिएका गुरु बराललाई पार्टीभित्र अन्तरघात नभएको भए उनी पनि निर्वाचित हुने थिए । एमालेका २ सांसदले बराललाई मत दिएनन । त्यसबेला एमालेको ४० सांसद र १ सय ४३ स्थानीय प्रतिनिधि मतदाता थिए । बराललाई ३८ सांसद र १४८ जनप्रतिनिधिले मतदान गरेका थिए । दुई सांसद घटे पनि बरालले ५ जना स्थानीय तहको मतदाता गठबन्धनबाट थुतेका थिए ।
यसपटक पनि मत क्रस हुने अनुमान एमालेले गरेको देखिन्छ । कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री बनाउँदा लगाएको गुण राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमालेले प्राप्त गर्ने अपेक्षा धेरैले गरेका छन् । गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा प्रभावशाली नेता कृष्णप्रसाद सिटौला र माओवादी नेतृ चम्पादेवी कार्कीको जीत हुने तथ्यांकबाट देखिन्छ । तर, विगत दोहोरियो भने भन्न सकिने अवस्था देखिँदैन ।
पुस २७ गते राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङदेनले गठबन्धनबाट एउटा सिट थुत्न एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्यको प्रस्ताव राखेका थिए । सत्ता गठबन्धन र गठबन्धनइतर मात्र निर्वाचन भयो भने दुई वर्षअघिको निर्वाचन घटना पुनारवृत्ति नहोला भन्न नसकिने विराटनगरका सञ्चारकर्मी रेवती भण्डारी बताउँछन् ।
कोशी प्रदेशमा कांग्रेसभित्रको अन्तरकलह यो निर्वाचनमा महत्वपूर्ण फ्याक्टर बन्न सक्छ । कृष्ण सिटौलाका दाइने हात ठानिएका उद्धव थापालाई संसदीय दलको नेताबाट घोक्रेठ्याक लगाएको घटना त्यत्ति पुरानो होइन । यो घटनाले कांग्रेसभित्रको गठबन्धन कठोर छ भन्ने कुरा बिर्सन मिल्दैन ।
एमालेलाई गठबन्धनको मत थुत्न त्यत्ति सजिलो छैन । पहाडी जिल्लामा उसैलाई संकट देखिन्छ । पहिचानवादीको मुद्दाले पूर्वी पहाडी जिल्लामा एमालेको साख नराम्रोसँग गिरेको जानकारहरु बताउँछन् । राप्रपा र स्वतन्त्रको साथ लिएर दुई मध्ये एउटा सिट थुत्ने एमालेको योजना साकार हुन ठूलै चलखेल हुनुपर्ने जानकारहरु बताउँछन् ।


प्रतिक्रिया