चितवनमा यो वर्ष तोरी उत्पादनमा उल्लेख्य बृद्धि हुने अनुमान

चितवनमा यो वर्ष तोरी उत्पादनमा उल्लेख्य बृद्धि हुने अनुमान

२८ हजार ४०५ मेट्रिक टन तोरी उत्पादन हुने अनुमान


ग्लोब नेपाल
108
Shares

चितवन । चितवनमा यो वर्ष तोरी उत्पादनमा उल्लेख्य बृद्धि हुने कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ । यहाँ तोरी खेतीमा कृषकहरु आकर्षित हुनुका साथै अनुकूल मौसम र क्षेत्रफल बढेसँगै उत्पादन बृद्धि भएको केन्द्रले जनाएको हो ।

अहिले बजारमा तेलको मूल्य अस्वाभाविक वृद्धि हुनु, बजारमा पाइने अन्य प्रकारका खाने तेलमा मिसावट बढ्नु र तोरीका नयाँ जातको विकास हुनुले पनि किसानलाई तोरी खेतीतर्फ आकर्षित गरेको कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी उमराज अर्यालले जानकारी दिए ।

अहिले धानखेती भन्दा बढी जमिनमा तोरी लगाउन थालिएको र क्षेत्रफल मात्रै होइन उत्पादकत्व समेत बढ्दै गएको छ । यो वर्ष तोरीको उत्पादकत्व प्रतिहेक्टर २ दशमलब ५ प्रतिशत बृद्धि रहेको छ ।

गत वर्ष उत्पादकत्व एक प्रतिशत रहेको थियो । यसवर्ष तोरीका लागि मौसम अनुकूल भएका कारण र रोग, किराको प्रकोप कम भएकाले उत्पादन बढेको अर्यालको भनाइ छ । कम लगानी, छोटो बाली, बजारभाउ राम्रो र जङ्गली जनावरले क्षति नपुर्‍याउने भएकाले यस क्षेत्रका कृषकहरुको तोरी खेतीमा आकर्षण बढ्दै गएको छ ।

चालु आर्थिक वर्ष २१ हजार ८५० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको र २८ हजार ४०५ मेट्रिक टन तोरी उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी अर्यालले जानकारी दिए ।

चितवनमा यो वर्ष २१ हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको छ । यो क्षेत्रफल गत वर्षको तुलनामा बढी हो । गत वर्ष १४ हजार सात सय ६५ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको छ ।

गत वर्ष जिल्लामा १९ हजार एक सय ९४ मेट्रिकटन तोरी उत्पादन भएको थियो । जिल्लामा खैरहनी र माडी नगरपालिकामा धेरै तोरी खेती गरिँदै आएको छ । नेपालमा दुई लाख ६० हजार ३०७ हेक्टर क्षेत्रफलमा तेलहन बाली गरिँदै आएको छ ।