हात्ती धपाउन स्थानीयवासीलाई साइरन

हात्ती धपाउन स्थानीयवासीलाई साइरन



झापा । दैनिकजसो गाउँ पसेर जंगली हात्तीले दुःख दिन थालेपछि शिवसताक्षी नगरपालिका–८ ले सो क्षेत्रका बासिन्दालाई हात्ती धपाउनका लागि साइरन वितरण गरेको छ । जंगली हात्तीले दैनिक गाउँ पसेर घर भत्काउने, अन्नबाली नष्ट गर्ने र मान्छेलाई आक्रमण गर्न थालेपछि वडाले हात्ती धपाउन साइरन वितरण गरेको हो ।

वडाध्यक्ष सन्त फेउदिनले राजमार्गको उत्तरतर्फबाट रतुवामाई वृक्षरोपण आयोजना हुँदै झिलझिले, डुँडामारी र धरमपुर चोकबाट गाउँ पसेर हात्तीले स्थानीयवासीको घर भत्काउने तथा अन्नबाली नष्ट गर्न थालेपछि बिहीबार १० थान साइरन वितरण गरिएको जानकारी दिए । उनले उक्त क्षेत्रमा धेरै जनधनको क्षति भएकाले हात्ती धपाउन साइरन वितरण गरिएको बताए ।

“साइरन बजेपछि हात्ती गाउँ प्रवेश गरेको स्थानीयवासीलाई जानकारी हुन्छ र सतर्कता अपनाउँछन्”, वडाध्यक्ष फेउदिनले भने, “साइरनको आवाजले हात्ती पनि भाग्छ ।” उनले तत्काल जंगल छेउका नागरिकलाई साइरन वितरण गरिएको बताए ।

फेउदिनका अनुसार शिवसताक्षी नगरपालिकाको उत्तर क्षेत्रको जंगलमा हाल १० हात्ती छन् । उनले सो क्षेत्रका बासिन्दालाई साइरनसँगै आठ थान टर्चलाइटसमेत वितरण गरेको बताए ।

गएको दुई महिनादेखि शिवसताक्षीको वडा नं १, ८, ९, १० र ११ का जंगलसँग जोडिएका क्षेत्रमा हात्तीले आतंक मच्चाउँदै आएका छन् । हालसम्म शिवसताक्षीमा मात्र जंगली हात्तीको आक्रणबाट दुई वर्षमा तीनजनाको ज्यान गइसकेको छ ।