प्रधानमन्त्री कपमा कोशीलाई ६४ रनले पराजित गर्दै बागमती विजयी

प्रधानमन्त्री कपमा कोशीलाई ६४ रनले पराजित गर्दै बागमती विजयी



काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई ६४ रनले पराजित गरेको छ । बागमतीले दिएको २७४ रनको लक्ष्य पछ्याएको कोशी प्रदेश ४७ ओभर १ बलमा २०९ रनमा समेटिएको हो ।

सुजन थपलिया र कप्तान अंकित सुवेदीले अर्धसतक प्रहार गरे । थपलियाले ५९ र सुवेदीले ५३ रन बनाए । सोनु अन्सरीले २१ र आइस भट्टराईले अविजित ३२ रनको योगदान दिए ।

बलिङमा बागमतीका इशान पाण्डेले ५ विकेट लिए । ८ ओभर बलिङ गरेका इशानले ३९ रन खर्चेर ५ विकेट लिए । सूर्य तामाङले २, रिजन ढकाल र प्रतीक श्रेष्ठले १-१ विकेट लिए ।

टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमती ४८ ओभर ३ बलमा अलआउट हुँदै २७३ रन बनाएको थियो । बागमतीका लागि ओपनर आशुतोष घिरैयाले सतक प्रहार गरेका थिए । उनी १११ बलमा ११८ रन बनाएर आउट भएका थिए । कप्तान रित गौतमले ४९, रबिन जोशीले ४३ र प्रतीक श्रेष्ठले १९ रनको योगदान दिए ।

बलिङतर्फ कोशीका अभ्यास तिमिल्सिनाले ३, कमल खत्री र हेमन्त राईले २-२ र फिर्दोश अन्सरीले १ विकेट लिएका थिए ।

बागमती ५ खेलमा ३ मा जित र २ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । सुदूरपश्चिम ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । कोशी पाँच खेलमा हारका साथ पुछारमा छ । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।