२५ रनमै अल आउट हुँदै काेशीकाे लगातार छैटाैँ हार, गण्डकीको पहिलो जित

२५ रनमै अल आउट हुँदै काेशीकाे लगातार छैटाैँ हार, गण्डकीको पहिलो जित



काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार छैटौँ हार बेहोरेको छ । आज भएको खेलमा गण्डकी प्रदेशले कोशीलाई १ सय ४२ रनको फराकिलो अन्तरले हरायाे ।

गण्डकीले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको कोशी १५ ओभर २ बलमा २५ रनमै अल आउट भयो । कोशीका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कोशीका कप्तान अंकित सुवेदीले ६ बलमा २ चौकासहित सर्वाधिक ८ रन बनाए । कोशीका चार खेलाडीले खाता नै खोल्न सकेनन् ।

गण्डकीका विपिन खत्रीले ७ ओभरमा ३ मेडनसहित ४ रन खर्चेर ६ विकेट लिए । सन्दीप पराजुलीले ३.२ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ३ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकी ४८ ओभर २ बलमा १ सय ६७ रनमा अल आउट भयो । गण्डकीका मुस्कान थापाले ६७ र कप्तान खत्रीले ४२ रन बनाए । कोशीका अभ्यास तिम्शिनाले ६ विकेट लिए ।

प्रतियोगितामा गण्डकीको यो पहिलो जित हो । गण्डकीले ४ खेलमा २ अंक जोडेको छ ।