यू-१९ विश्वकप : गुल्सनले लिए न्युजिल्यान्डविरुद्ध दुई बलमा दुई विकेट

यू-१९ विश्वकप : गुल्सनले लिए न्युजिल्यान्डविरुद्ध दुई बलमा दुई विकेट



काठमाडौं । दक्षिण अफ्रिकामा भइरहेको आइसिसी यू-१९ विश्वकप क्रिकेटमा अहिले नेपाल र न्युजिल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा नेपालले न्युजिल्यान्डको ६ विकेट लिएको छ ।

न्युजिल्यान्डका कप्तान ओस्कार ज्याकसनलाई चौथो विकेटको रुपमा आउट गर्ने क्रममा नेपालका आकाश त्रिपाठीले बोल्ड गरे । ज्याकसनले ७५ रन जोड्ने क्रममा ८१ बलमा ३ चौका र ५ छक्का प्रहार गरे। ४१.५ ओभरमा आउट हुनुअघि उनले चौथो विकेटका लागि स्नेहिथ रेडीसँग १५७ रनको साझेदारी गरेका थिए ।

४२.२ ओभरमा गुल्सन झाले स्ट्याकपोललाई शून्यमा आउट गरे । अर्को बलमा झाले ज्याक कमिन्सलाई शून्यमै आउट गरे । त्यतिबेला न्युजिल्यान्डले ६ विकेटको क्षतिमा २२५ रन जोडेको थियो ।

पहिलो १० ओभरको पावरप्लेमा कुनै विकेट नगुमाएको न्युजिल्यान्डविरुद्ध नेपालले पावरप्लेपछिको पाँच ओभरभित्रमा तीन विकेट लिएको थियो ।

नेपालका लागि सुवास भण्डारीले पहिलो सफलता दिलाए। उनले १०.१ ओभरमा न्युजिल्यान्डका ओपनिङ ब्याट्सम्यान लुक वाट्सनलाई बोल्ड गरे ।

१३.५ ओभरमा नेपालले दोस्रो विकेट लियो । नेपालका तिलकराज भण्डारीले न्युजिल्यान्डका ओपनर टम जोन्सलाई ३३ रनमा बोल्ड गरे ।

स्पिनर दिपेश कँडेलले १४.३ ओभरमा नेपालका लागि तेस्रो विकेट लिए । उनले न्युजिल्यान्डका ओलिभर टेवाटियालाई शून्यमा विकेटकिपरबाट क्याच गराए ।