प्रधानमन्त्री कप क्रिकेट : पुलिसको पाँचौँ जित दर्ता

प्रधानमन्त्री कप क्रिकेट : पुलिसको पाँचौँ जित दर्ता



काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई पराजित गर्दै प्रतियोगितामा पाँचाैँ जित दर्ता गराएको छ ।

मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले मधेशमाथि ६ विकेटको जित निकाल्दै प्रतियोगितामा पाँचौँ जित दर्ता गराएको हो । पुलिसले ५ खेलमा १० अंक जोड्दै अंक तालिको शीर्ष स्थानमा यथावत् छ । यता मधेशले ७ खेलमा ८ अंक जोडेको छ । मधेश अंक तालिकाको तेस्रो स्थानमा छ ।

मधेशले प्रस्तुत गरेको ९७ रनको समान्य लक्ष्य पुलिसले १८ दशमलव ३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । पुलिसका लागि सुनिल धमलाले सर्वाधक २८ रनको योगदान दिए । त्यस्तै कुशल भुर्तेलले १९, आरिफ शेखले अविजित १६ र अमृत श्रेष्ठले अविजित १५ रन बनाए । मधेशका लागि रञ्जीत कुमार र अर्निको यादवले समान दुई/दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेशले २४ ओभरमा सबै विकेट गुमाउँदै ९६ रनको योगफल बनाएको थियो । मधेशका लागि अर्निको यादवले २३, कप्तान हरिशङ्कर शाहले २२ र अभिशेक तिवारीले अविजित ११ रन बनाए ।

पुलिसका लागि सागर ढकालले पाँच विकेट लिए भने ललितनारायण राजवंशीले चार विकेट झारे । त्यस्तै राशिद खानले एक विकेट लिए ।

लगातार पाँचौं जितले पुलिसको फाइनल खेल्ने सम्भावना बलियो बनेको छ ।