काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा नेपालले पाकिस्तानसामु १९८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बुधबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभर खेल्दै सबै विकेट गुमाएर १९७ रनको योगफल खडा गर्यो ।
पाकिस्तानविरुद्ध नेपालका ओपनर विपीन रावलले ३९ रन बनाए । उनले ६८ बलमा चार चौका र एक छक्का प्रहार गरे । दीपक डुम्रेले २६ रन थपे ।
यस्तै, नेपाली टिमको स्कोरबोर्डमा कप्तान देव खनालले २३ रन जोडे । सुवास भण्डारीले २० रन बनाउँदा आकाश चन्दले १६ र दीपेश कंडेलले १३ रन थपे ।
यसअघि पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध ९० रन बनाएका ओपनर अर्जुन कुमाल भने आज ६ रनमा आउट भए ।
नेपालविरुद्ध पाकिस्तानका अराफत मिनहारसले तीन विकेट लिए । १० ओभर बलिङ गरेका अराफतले दुई मेडन फ्याक्दै २३ रन खर्चिए । अहमेद हुसेन र उबैद साहले दुई–दुई विकेट लिँदा खुबइब खालिल, मोहम्मद जिसान र अली अस्फन्दले समान एक विकेट लिए ।
प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग ६४ रनको हार व्यहोर्दा पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो ।
आजको खेलपछि नेपालले समूह चरणको अन्तिम खेलमा जनवरी २७ मा अफगानिस्तानविरुद्ध खेल्नेछ ।
प्रतिक्रिया