सिद्धबाबामा सुरुङ मार्गको मुख्य टनेल खन्न सुरु

सिद्धबाबामा सुरुङ मार्गको मुख्य टनेल खन्न सुरु


ग्लोब नेपाल
0
Shares

पाल्पा । सिद्धबाबा सुरुङमार्गको मुख्य काम सुरुङ खन्न सुरु गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ मार्ग निर्माणका लागि दक्षिणतर्फको गेटबाट मुख्य टेनेल खन्न सुरु भएको हो ।

सुरुङ निर्माणका लागि आवश्यक पूर्वाधार निर्माणपछि सुरुङ खन्ने कामले गति लिएको आयोजना पक्षले जनाएको छ । माटो परीक्षण, साइट कार्यालय स्थापना, विद्युत् विस्तार, वैकल्पिक बाटो निर्माणसहितका पूर्वाधार बनेपछि मुख्य काम सुरुङ खन्न सुरु गरिएको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले जनाएको छ ।

आयोजना प्रमुख रामपुकार जैसवालकाअनुसार सुरुङमार्गको हालसम्म १० दशमलव २ प्रतिशत काम सम्पन्न भइसकेको र सोही अनुसार निर्माण कम्पनीलाई भुक्तानी गरिएको छ । सुरुङ निर्माणको कामसँगै चट्टान बग्नबाट जोगाउन ७५० मिटरको ‘रकसेड’ निर्माणको कामसमेत सुरु भएको छ ।

पाँच वर्षभित्र सुरुङ निर्माणको काम सक्ने गरी नेपाल सरकारसँग २०७८ फागुन २५ गते सम्झौता भएर कम्पनीले डेढ वर्षअघिदेखि काम सुरु गरेको थियो ।

सुरुङ मार्गको मुख्य काम सुरु भएपछि निर्माणले गति लिने सिद्धबाबा सुरुङमार्ग आयोजनाको कार्यालय बुटवलले जनाएको छ । यस्तै तीन स्थानबाट बाइपास सुरुङ निर्माण सुरु भइरहेको छ । सुरुङ क्षेत्रमा प्रवेश गर्ने तीनवटा ४३१ मिटरका बाइपास सुरुङ खन्ने कामसमेत भइरहेको आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीले जानकारी दिए ।

तल्लो गेटबाट सुरुङ निर्माणको काम भइरहेको छ भने माथिल्लो भागमा अन्य संरचना निर्माण तथा ‘रकसेड’ निर्माण गर्ने क्षेत्रमा ३० वटा रुख काट्नसमेत सम्बन्धित निकायबाट सहमति आइसकेको आयोजनाले जनाएको छ ।

सुरुङमार्गसँगै कम्पनीले ९०४ मिटर बुटवलतर्फ र पाल्पातर्फको एक हजार ४९४ मिटर सडक स्तरोन्नति गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सुरुङमार्ग आयोजना सम्पन्न गर्न सात अर्ब ३४ करोड २१ लाख लागत लाग्ने अनुमान गरिएको छ ।

सिद्धार्थ राजमार्गको सुनौली पोखरा यात्रामा सबैभन्दा जोखिमको क्षेत्र मानिने सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माण भएसँगै यो राजमार्ग भएर यात्रा गर्ने यात्रुले सुरक्षित यात्रा गर्ने अपेक्षा लिइएको छ ।