राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान सुरु

राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान सुरु


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ। आज बिहान ९ बजेदेखि सबै ठाउँमा मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ।

राष्ट्रिय सभा सदस्यका रिक्त हुन लागेको १९ पदका लागि आज निर्वाचन हुन लागेको हो। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ७ वटै प्रदेशमा १-१ मतदान स्थल र २-२ मतदान केन्द्र कायम गरिएको छ।

२०७४ फागुनमा निर्वाचित राष्ट्रिय सभा सदस्यको पदावधि आगामी फागुन २० गते सकिन लाग्दा अर्को ६ वर्षे पदावधिका लागि १९ जना सदस्यको निर्वाचन हुन लागेको हो। अर्का १ जना सदस्य भने राष्ट्रपतिबाट मनोनीत हुनेछन्।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ७ वटै प्रदेशमा विभिन्न राजनीतिक दलका ५१ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन्। सत्तारुढ गठबन्धनका दलहरूले सहमतिमा उम्मेदवारी दिएका छन्। जसअनुसार नेपाली काँग्रेसका १०, नेकपा माओवादी केन्द्रका ६, नेकपा एकीकृत समाजवादीका २ र जनता समाजवादी पार्टीका १ जना उम्मेदवार छन्।

संघीय संसद्‌को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १९ वटै पदमा उम्मेदवारी दिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका ७, जनमत पार्टीका २ र नेपाल मजदुर किसान पार्टीका ४ जना उम्मेदवार छन्।

राष्ट्रिय सभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ । निर्वाचनमा हाल कायम प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कूल मतभार ५७ हजार पाँच सय ५९ हुनेछ ।

हाल कायम प्रदेशसभा सदस्य पाँच सय ४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार नौ सय ९८ मतदाता रहेका छन् । आयोगले निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ ।