बागलुङ । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले बचतकर्ताको डेढ अर्ब र विभिन्न बैंकहरुको ३५ करोड गरी करिब २ अर्ब रुपैयाँ हिनामिना गरी बेपत्ता रहेका बागलुङको ढोरपाटनका मेयरसमेत रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीलाई पक्राउ गर्न ‘रेड कर्नर नोटिस’ जारी गरेकाे छ ।
सहकारीको रकम हिनामिनामा नेपाली र उनकी श्रीमतीसहित ८ जनाविरुद्ध मुद्दा चलिरहेको छ । तर अध्यक्ष नेपाली भने गत बैशाखदेखि नै फरार छन् । उनै नेपाली र उनकी श्रीमती छेला नेपालीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले संसारभरका प्रहरीहरुको अन्तरराष्ट्रिय प्रहरी सञ्जाल (इन्टरपोल)मार्फत् ‘रेड कर्नर नोटिस’ जारी गरेको हो ।
अध्यक्ष नेपाली विदेशमा लुकेर बसेको आशंका भएको भन्दै सहकारीका पीडितहरुले रेड कर्नर नोटिस जारी गर्नुपर्ने माग गरेका थिए । बागलुङका डिएसपी मदन केसीले नेपाली दम्पत्तीलाई पक्राउ गर्न इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको बताए ।
नेपाली नेकपा एमालेका गण्डकी प्रदेश कमिटी सदस्य हुन् । उनलाई एमालेले निलम्बन गरेको छ । नेपाली गत वर्ष भएको स्थानीय निर्वाचनमा एमालेकै तर्फबाट दोस्रो पटक ढोरपाटनको मेयर जितेका थिए ।
प्रहरीका अनुसार उनी भारत हुँदै अन्य तेस्रो मुलूक पुगेको आशंका छ । फरार रहेकै अवस्थामा उनी दुई महिनाअघि भने फेसबुक लाइभमा आएका थिए । त्यसयता भने फेसबुकमा पनि सक्रिय छैनन् ।
उनी सम्पर्कविहीन भएपछि नगरपालिकाको कामकारबाही उपप्रमुख धनबहादुर कायतले गर्दै आएका छन् ।


प्रतिक्रिया