अपराजित रहदै पुलिस क्लब पीएम कपको फाइनलमा

अपराजित रहदै पुलिस क्लब पीएम कपको फाइनलमा



काठमाडौं । नेपाल पुलिस क्लब जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेको छ ।

आइतबार नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेसँगै लगातार सातौं जितसहित फाइनलमा पुगेको हो । पुलिस दुई खेल खेल्नु अघिनै फाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।

गण्डकी प्रदेशले दिएको १७१ रनको लक्ष्य पछाएको पुलिस क्लबले २४.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

पुलिसको जितमा दीलिप नाथले सर्वाधिक ५७ रन, कुशल भुर्तेल २२, अर्जुन साउद ४४, आरिफ शेख २७ रन बनाए ।

गण्डकीका सन्दीप पराजुलीले ६.२ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । विपिन खत्री र कमल परियारले १–१ विकेट लिए ।

त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेश ३८.३ ओभरमा १७० रनमा अल आउट भएको थियो । गण्डकीका अमृत गुरुङले सर्वाधिक ५० रन बनाए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । कमल परियारले ३०, समिर कँडेल २९ र करन पँगेनीले ३० रन बनाए ।

पुलिसको जितमा तीव्र गतिका बलर राशिद खानले ६ ओभरमा २५ रन खर्चेर ५ विकेट लिए । ललित राजवंशी र करण केसीले २–२ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

यो जितपछि पुलिस क्लबको ७ खेलमा १४ अंक भएको छ र अपराजित रहदै फाइनलको यात्रा सुनिश्चित गरेको छ ।

त्यसैगरी गण्डकी प्रदेशको भने याे छैटौं हार हो । गण्डकीको ८ खेलमा ४ अंकसहित अंक तालिकामा आठौँ स्थानमा रहेको छ ।