सुदूर पश्चिमलाई हराएपछि एपीएफको फाइनल सम्भावना कायम

सुदूर पश्चिमलाई हराएपछि एपीएफको फाइनल सम्भावना कायम



काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गरेर कठिन जित हात पार्दै फाइनल पुग्ने अंक गणीतिय सम्भावना कायम राखेको छ ।

सुदूरपश्चिमले जितका लागि दिएको ८८ रनको सामान्य लक्ष्य एपीएफले १४ दशमलव एक ओभरमा सात विकेट गुमाउँदै पूरा गर्‍यो । एपीएफका लागि सन्दीप जोराले १८ रन बनाए भने आशिफ सेखले १५, भुवन कार्कीले १४, प्रदीप ऐरीले १२ तथा लोकेश बमले ६ रन जोडे ।

सुदूरपश्चिमका लागि दीपक चन्दले चार र नरेन साउदले तीन विकेट लिए ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १६ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटियो । सुदूरपश्चिमका लागि नारायण जोशीले २५ बलमा तीन छक्का र तीन चौका प्रहार गर्दै अविजित ३१ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा एपीएफका लागि चन्दन रामले पाँच विकेट लिए । त्यसैगरी, भुवन कार्की तीन र कप्तान रोहित पौडेलले दुई विकेट झारे ।

एपीएफ ८ खेलमा ५ मा जित र ३ मा हारसहित १० अंकका साथ पाँचौं स्थानमा छ । एपीएफले बुधबार कर्णालीसँग टियुमा खेल्नेछ । एपीएफ अन्तिम खेलमा विजयी भएमा १२ अंकमा पुग्नेछ । तर त्यो १२ अंक भने फाइनल खेल्न पर्याप्त हुने छैन । अन्य टोलीको नतिजामा भर पर्नुपर्छ ।

आर्मी ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ । आर्मीले अन्तिम खेल बिहीबार गण्डकीसँग खेल्नेछ । आर्मी उक्त खेलमा पराजित भएमा मात्रै एपीएफ १२ अंकमा नेटरनरेटमा माथि रहँदै फाइनल खेल्ने झिनो अंक गणीतिय सम्भावना बाँकी छ ।

आर्मी विजयी हुँदा भने एपीएफको फाइनल खेल्ने सम्भावना समाप्त हुनेछ ।