नेपालले बंगलादेशलाई दियो १७० रनको लक्ष्य

नेपालले बंगलादेशलाई दियो १७० रनको लक्ष्य



काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा बंगलादेशलाई १७० रनको मध्यम लक्ष्य दिएको छ ।

बुधबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अल आउट भयो । नेपालका मध्यक्रमका ब्याटर विशाल विक्रम केसीले १ सय बलमा ६ चौकासहित सर्वाधिक ४८ रन बनाए । २९–३ को अवस्थामा ब्याटिङ गर्न आएका विशालले कप्तान देवसँग चौथो विकेटका लागि ६२ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलसम्म डोहोर्‍याएका थिए ।

देव खनाल ६० बलमा ३ चौकासहित ३५ रनमा आउट भए । सुवास भण्डारी ३४ बलमा १८ रनमा नट आउट रहे । दुर्गेश गुप्ता १४ बलमा १ छक्कासहित ९ रनमा आउट भए । । ओपनर अर्जुन कुमालले १४ जोडे ।

१४२–९ को अवस्थाबाट अन्तिम विकेटका लागि सुवास र दुर्गेश गुप्ताले २७ रनको साझेदारी गर्दै नेपाललाई १६९ रनको स्कोरसम्म पुर्‍याएका थिए ।

नेपालका आकाश त्रिपाठी, गुल्सन झा, दीपक बोहरा र दीपेश कँडेल समान तीन रन जोडेर आउट भए । विपीन रावलले दुई रन थप्दा आकाश चन्द ‘गोल्डेन डक’ भए ।

बंगलादेशका रोहनात डोउल्लाह बोर्सोनले चार विकेट लिए । ८.५ ओभर बलिङ गरेका उनले दुई मेडन फ्याक्दै १९ रन खर्चिए । सेख पाइभेज जिबोनले तीन विकेट लिए । इक्बाद हुसैन इमोन, मरुफ मृधा र जिसान आलमले समान एक विकेट लिए ।

प्रतियोगिताको यस संस्करणमा नेपाल समूह ‘डी’ को तेस्रो स्थानमा र बंगलादेश समूह ‘ए’ को दोस्रो स्थानमा रहँदै सुपर सिक्समा आएका हुन् ।

आजको खेलपछि नेपालले सुपर सिक्सको अर्को खेलमा भारतविरुद्ध फेब्रुअरी २ मा खेल्नेछ ।