काठमाडौँ । गृहमन्त्रालयले दुई डिआइजी दरबन्दी थप तथा मिलानका लागि प्रशासन महाशाखा प्रमुखको अध्यक्षतामा गठन गरेको ओएण्डएम समितिले तयार पारेको प्रतिवेदन अनुसार पद स्थानान्तरण र थपको प्रस्ताव मन्त्रिपरिषदमा पठाउने तयारी मन्त्रालयको छ ।
दुई वटा डिआइजी(केनाईन र साइवर ब्युरो) तर्फ पदावधिका कारण दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अवकाश हुन लागेसँगै विशेष पद सिर्जना गरेर थमौती गर्न लागिएको हो । साइबर ब्युरो र केनाइनमा त्यतिको अनुभवी अधिकारी तयार गर्न दशकौँ लाग्न सक्ने र उमेर छँदै भएकोले सङ्गठनको आवश्यकताका लागि विशेष(अवकाशसँगै एसएसपी नै कायम हुने) पद सिर्जना प्रक्रिया अघि बढाइएको प्रहरी प्रधान कार्यालय स्रोतको भनाई छ । साइवर ब्युरोका एसएसपी नबिन्द अर्याल र केनाइनकी एसएसपी देवती गुरुङको पुगनपुग एक वर्ष मात्रै अवधि बाँकी रहेको छ ।
प्राविधिक तर्फ एसएसपी(सवारी महाशाखा) दिनेश केसीले आकस्मिक राजीनामा दिएसँगै रिक्त हुन पुगेको पदमा एसपीको बढुवा हुने अवधि नपुगेकोले दुई वर्ष नै रिक्त रहने अवस्था थियो । त्यस्तै सङ्गीत विद्यालयमा पनि लामो समयदेखि एसपी पद रिक्त रहँदै आएको र त्यसमा डिएसपी एसपीमा बढुवा हुने अवधि नपुगेकाले उक्त पद रिक्त रहँदै आएको थियो । यी दुवै पदलाई सार्दा एसपी बढुवा केही खुकुलो र सहज हुने भन्दै स्थानान्तरणको प्रस्ताव गरिएको हो ।
कतिपय अवस्थामा सङ्गठनको आवश्यकतासँगै वृत्ति विकास, विज्ञता तथा न्यायिक दृष्टिकोणले पनि त्यस्ता पदहरू सार्नु तथा सिर्जना गर्नु स्वभाविक मानिने भए पनि यसरी सारिएका तथा बढुवा गरिएका अधिकारीहरूको अवकाशसँगै यथा अवस्थामा नै कायम हुने भनिएका पदहरू पनि यथावत नै राखिँदा भने समस्या हुने गृह अधिकारीहरूको भनाई छ । पद सार्ने र विशेष पद सिर्जना गर्नेबारे अहिलेको अवस्थामा केही अन्यौलता उत्पन्न भए पनि कार्यान्वयनमा इमान्दारीता देखाउने सर्तमा अघि बढाउन लागिएको गृह स्रोतको दाबी छ ।


प्रतिक्रिया