यती एअरलाइन्सले थप्यो दुईवटा एटिआर जहाज

यती एअरलाइन्सले थप्यो दुईवटा एटिआर जहाज

यात्रुसेवालाई उत्कृष्ट बनाउने



काठमाण्डौं। अग्रणी वायुसेवा कम्पनी यती एअरलाइन्सले आफ्नो सेवा विस्तार गर्ने क्रममा दुईवटा एटिआर ७२–५०० विमान थप गरेको छ । थप गरेको यो विमान आज साँझ ५:२० र ५:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको हो ।

यतीले ७२ सिट क्षमताको दुईवटै विमान बंगलादेशबाट खरीद गरी ल्याएको हो । विमान थप गरेसँगै यतीसँग एटिआर ७२–५०० वायुयानको संख्या ७ पुगेको छ । थप गरिएको वायुयानले नेपाली रजिष्ट्रेशन ९एन-एओएफ र ९एन-एओएच (9N-AOF and 9N-AOH) पाएको छ । खरीद गरिएका विमानहरु यतीका क्याप्टेनहरुले नै बंगलादेशको ढाकाबाट उडान गरी नेपालमा ल्याएको कम्पनीका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए । उनले कम्पनीले थप गरेको जहाजले हाल उडान गर्ने गन्तव्यमा नै सेवा विस्तार गर्ने निति लिएको र आवश्यक कागजी प्रक्रिया पूरा गरी १ सातापछि उडान सेवा दिने बताए ।

यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाकाले “आन्तरिक हवाईसेवालाई अझै सहज तथा सुलभ बनाउन थप जहाज भित्राउने निति लिएको र जहाज थप गरेसँगै यात्रुहरुलाई तोकिएको समयमै उडान गर्न कम्पनी प्रतिबद्ध रहेको” बताए । सन् २०२४ भित्रै थप ३ वटा जहाज ल्याई १० वटा पुर्याउने लक्ष्य रहेको र यसले गुमेको बजारहिस्सा कायम गदै यात्रुहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न मद्दत पुग्ने उनको भनाई छ ।

एटिआर कम्पनीको वेबसाइटकाअनुसार एटिआर ७२–५०० टर्बोप्रप विमानले पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्दछ । ७०–७२ सिट क्षमताको यो विमान टर्बोप्रप इन्जिन भएको उत्कृष्ट विमान मानिन्छ । पिडब्लु १२७ इन्जिनहरूद्वारा संचालित एटिआर ७२–५०० यस आकारको विमानको लागि उत्कृष्ट मानिन्छ । अन्य विमानभन्दा कम आवाज र कम्पन हुने तथा भित्री इन्टेरियर उत्कृष्ट भएकोले उडानको क्रममा आरामदायी हुनेछ ।

यती एअरलाइन्सले हालसालै एशियन लाईफ ईन्स्योरेन्सलाई लगानीकर्ताको रुपमा भित्राएको लिमिटेड कम्पनी हो । कम्पनीले यसै वर्षभित्र सर्वसाधरणको लागि आईपिओ जारी गर्ने लक्ष्य लिएको छ । हाल यतीले नेपालको सुगम गन्तव्यहरु काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्ज लगायत पर्वतीय उडानहरु गर्दै आएको छ भने अन्तर्राष्ट्रिय तर्फ चार्टर र नन–सेड्युल उडान गरी हवाईसेवा प्रदान गर्दछ ।