अमेरिकाद्वारा सिरिया र इराकस्थित विद्रोही अखडामा आक्रमण योजना अनुमोदन

अमेरिकाद्वारा सिरिया र इराकस्थित विद्रोही अखडामा आक्रमण योजना अनुमोदन


ग्लोब नेपाल
54
Shares

अमेरिकाले सिरिया र इराकस्थित इरानी लक्ष्यहरूमा शृंखलाबद्ध हमला गर्ने योजनालाई अनुमोदन गरेको छ । हमला लामो रहने तर मौसमजन्य परिस्थितिले भने त्यसलाई निर्धारण गर्नसक्ने जनाइएको छ ।

आक्रमणको समय सीमा निर्धारण नभएपनि कहाँ, कहिले र कसरी बदला लिने भन्ने विषय अमेरिकी रोजाइमा रहने अधिकारीहरुको भनाइ छ । सिरियाको सीमानजिक रहेको जोर्डनमा गत आइतबार ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिका जवाफी कारबाहीमा उत्रिएको हो ।

अमेरिकाले आफ्ना सैनिकमाथिको हमलामा इरान समर्थित मिलिसिया समूहलाई दोषी ठहर्‍याएको छ । इराकमा इस्मामिक प्रतिरोध समूहका रुपमा रहेको संयुक्त विद्रोही लडाकु मोर्चाले आइतवारको हमलामा आफ्नो संलग्नता स्वीकारेको छ ।

यसैबीच इरानले टावर-२२ भनेर चिनिने सैन्य अखडामा भएको आक्रमणमा आफ्नो भूमिका नभएको स्पष्ट गरेको छ । अमेरिकी सैन्य आधारहरुमा लडाकुहरुको निरन्तरको आक्रमणले दुवै पक्षबीच द्वन्द्व चर्किएको छ । दुवै पक्ष आक्रमणमा उत्रिएपछि मध्यपूर्वमा नै तनाव बढ्ने अवस्था आएको हो ।

गत अक्टोबर ७ यता यमनस्थित इरान समर्थित हुथी विद्रोहीले रेड-सीमा इजरायल सम्वद्ध राष्ट्रका जहाजलाई निसाना बनाउने क्रम बढाएपछि पश्चिमा राष्ट्रहरु क्रुद्ध भएका हुन् ।

यस अवधिमा मध्यपूर्वस्थित विभिन्न अमेरिकी आधार शिविरहरुमा १ सय ६० भन्दा बढी हमला भएको अमेरिकाले जनाएको छ । अमेरिका, बेलायत लगायत राष्ट्रहरुले पनि विद्रोहीका हमला विरुद्ध जवाफी कारबाही गर्दै आएका छन् ।