बदलामा उत्रदै अमेरिकाः सिरिया र इराकमा ८५ लक्षित आक्रमण

बदलामा उत्रदै अमेरिकाः सिरिया र इराकमा ८५ लक्षित आक्रमण


ग्लोब नेपाल
54
Shares

न्यूयोर्क । गत आइतबार मध्यपूर्वमा ड्रोन आक्रमणमा मारिएका तीन अमेरिकी सैनिकको मृत्युको बदला अमेरिकाले लिएको छ । अमेरिकाले सिरिया र इराकका ८५ वटा लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी सेनाले इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प कुड्स फोर्स र सम्बद्ध मिलिसिया समूहहरु विरुद्ध हवाई आक्रमण शुरु गरेको हो ।

आक्रमण शुरु गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडनले हिजो एक विज्ञप्ति निकाल्दै अमेरिकाले आफ्नो प्रतिक्रिया शुरु गरेको बताउँदै आफ्नै रोजाईको समय र स्थानहरुमा आक्रमण जारी राख्ने बताए । गत साता टावर २२ नामक अमेरिकी आधार शिविरमा भएको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु हुनुका साथै अन्य ४० जनाभन्दा बढी घाइते भएका थिए ।

ह्वाइट हाउसले आक्रमणमा इरानको हात रहेको आरोप लगाएको छ । इरानले भने यस घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ । साथै अमेरिकी आरोपलाई आधारहीन भएको प्रतिक्रिया दिएको छ ।