सोमबार देशभरका फिल्म हल बन्द हुने

सोमबार देशभरका फिल्म हल बन्द हुने



काठमाडौं । यही माघ २२ गते सोमबार देशभरका फिल्म हल बन्द हुने भएका छन् । नेपाल चलचित्र संघले सरकारले अव्यवहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर सोमबार देशभरका हल बन्द गर्न लागेकाे हो ।

मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरुको खारेजीको माग गर्दै सोमबार देशभरका फिल्म हल बन्द गर्न लागिएको हलहरुले सूचना निकालेर जानकारी दिएका छन् । 

संघले चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरू तिर्न बाध्य पारिएको भन्दै मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहितविपरित अन्य कर लगाइएको आरोप लगाएको छ ।

संहिताविपरित चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायतका विभिन्न करहरूले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको संघले जनाएको छ ।

संघले कोरोना महामारीअघि देशभर ४५० वटा चलचित्र हल सञ्चालनमा रहे पनि अहिले १५९ वटा मात्र हल सञ्चालनमा रहेको जनाएको छ ।