काठमाडौं । एमाले धादिङको नवौं जिल्ला अधिवेशन स्थगीत गरिएको छ । जारी अधिवेशनमा बन्द सत्र सुरु हुनुअगावै अधिवेशन स्थलमा झडप भएपछि बन्द सुरु हुनु अगावै अधिवेशन स्थगीत गरिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले जिल्ला कमिटी धादिङको अधिवेशनमा भएको विवाद समाधान गर्न प्रदेश इन्चार्ज, अध्यक्ष तथा जिल्ला अध्यक्षसहितका नेताहरुलाई आफ्नो निवास बालकोट बोलाएका छन् ।
अध्यक्ष ओलीले नेताहरुलाई काठमाडौं बोलाएपछि सोमबार बिहान ८ बजेसम्म प्रतिनिधिहरुलाई अधिवेशनस्थलमै बस्न भनेर नेताहरु काठमाडौं आएका छन् । अध्यक्ष ओलीले बागमति प्रदेश इन्चार्ज गुरू बरालसहित प्रदेश अध्यक्ष कैलाश ढुंगेल, अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटा, एमाले बागमति प्रदेशका सचिव नवराज सिलवाल, जिल्ला अध्यक्ष भूमि त्रिपाठीलगायतका नेताहरुलाई काठमाडौं बोलाएका थिए ।
खासगरी एमाले धादिङमा हालका अध्यक्ष भूमि त्रिपाठी र पूर्वप्रदेश सभा सदस्य तथा बागमती प्रदेशका पूर्वराज्य मन्त्री रामकुमार अधिकारीबीच अध्यक्ष को हुने भन्नेमा कुरा नमिल्दा विवाद बढेको एमाले धादिङका नेता कार्यकर्ताहरुले जानकारी दिएका छन् । सोही कारण प्रदेश अध्यक्ष कैलाश ढुंगेलले आइतबार बिहानै अधिवेशन स्थगीत भएको विज्ञप्ति जारी गरेका थिए ।
लगत्तै जिल्ला अध्यक्ष भूमि त्रिपाठीले अर्को विज्ञप्ति जारी गरेर अधिवेशनको बन्दसत्र जारी भएको बताएका थिए । अधिवेशन मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले आफूलगायतका सरोकारवाला नेताहरु समस्या समाधानका निम्ति शीर्ष नेताहरुसँग छलफल गर्न काठमाडौं हिँडेको जानकारी दिएका छन् ।


प्रतिक्रिया