महानगर प्रहरीले शान्तिवाटिकाबाट हटायो प्रदर्शनकारीलाई

महानगर प्रहरीले शान्तिवाटिकाबाट हटायो प्रदर्शनकारीलाई



काठमाडौं । शान्तिवाटिकामा धर्नामा बसेकाहरुलाई महानगरीय प्रहरीले हटाएको छ । मंगलबार बिहान करिब साढे आठ बजेतिर पुगेको नगर प्रहरीको टोलीले धर्नामा बसेकाहरुलाई हटाएको हाे ।

शान्तिवाटिकामा मिटरब्याज पीडित, आरती साहको परिवार लगायत धर्नामा बस्दै आएका थिए ।

सम्पदा क्षेत्रमा बस्न नदिने भएकाले हटाइएको महानगर प्रहरीले जानकारी दिएकाे छ । महानगरले अहिले शान्तिवाटिकामा ताला लगाएको छ भने प्रदर्शनकारीहरू शान्तिवाटिका बाहिरै बसिरहेका छन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले माइतीघर मण्डलमा प्रदर्शन गर्न निषेध गरेपछि उनीहरू शान्तिवाटिका गएका थिए ।

प्रशासनले माइतीघरमा प्रदर्शन गर्दा सरकारी कामकाजका लागि आउनेहरूका लागि अवरोध हुने गरेको भन्दै निषेधित क्षेत्र तोकेको हो । दुर्गा प्रसाईंको कार्यक्रमलाई लक्षित गर्दै तोकेको निषेधित क्षेत्र प्रशासनले हटाएको छैन ।

विभिन्न माग राख्ने समूहरु ११ महिनादेखि शान्ति बाटिका कब्जा गरेर बसेको र त्यसका कारण रानीपोखरीसमेत फोहोर हुन थालेकाले उनीहरुलाई हटाउनु परेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

शान्ति बाटिकामा धर्नामा बस्नेहरु भान्छा र बिस्तारासहित स्थायी रुपमै बसेको भन्ने सूचना आएपछि उनीहरुलाई हटाउन महानगरले आदेश दिएको थियाे ।