काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय सुरक्षा कार्यालयको प्रमुख डीआईजी अर्जुन चन्दको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ। विमानस्थलमा प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीबीच कुटाकुट प्रकरणको केही दिनमै उनलाई प्रधान कार्यालयमा तानिएको हो।
डीआईजी चन्दलाई प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा काज सरुवा गरिएको छ । उनलाई विमानस्थल प्रमुखका रुपमा खटाउँदा पनि काजमै सरुवा गरिएको थियो। उनको दरबन्दी अहिले पनि साइबर ब्यूरोमै राखेर काजमा प्रहरी प्रधान कार्यालय लगिएको हो। बिदामै रहँदा काज सरुवा गरिएको छ।
विमानस्थलमा अध्यागमनका कर्मचारीसँग हातपातमा उत्रिएका डीएसपीसहित चार प्रहरीलाई कारबाहीका लागि सिफारिस गरेपछि उनले राजीनामा दिएका थिए। समितिले विमानस्थलमा कार्यरत डीएसपी रेवतीरमण पोखरेललाई सचेत गराउन, असई सञ्जय तामाङलाई निलम्बन गर्न, प्रहरी जवान रविरञ्जन गुप्ता र राजकुमार महतोलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ।
असई तामाङ र जवानद्वयलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले बोलाएको छ। हिजो बिहीबारदेखि उनीहरु रानीपोखरीमा हाजिर भएका छन्। तर उनीहरुलाई कारबाही बारे भने निर्णय भइसकेको छैन। उता प्रहरीले चेकजाँचच गर्दा लफडा गरेका अध्यागमन अधिकृत छायाँ मोक्तानलाई गृह मन्त्रालय फिर्ता गरिसकिएको छ।


प्रतिक्रिया