रौतहटमा कर्फ्युको दायरा बढाइयो

रौतहटमा कर्फ्युको दायरा बढाइयो


ग्लोब नेपाल
81
Shares

रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू अवधिमै उच्छङ्खल गतिबिधि हुँदा स्थानीय प्रशासनले कर्फ्यूको दायरा बढाएको छ। ईशनाथ-७ घिउरा गाउँमा सरस्वतीको मुर्ति सेलाउन बिषयमा दुई समुदायबीच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हाे।

सरस्वतीको मुर्ति सेलाउन लैजाने समुहमाथि  शनिबार  घिउरामा मुस्लिम समुदायले घरको छतबाट ढुङ्गा हान्दा स्थानीय कार्तिकेश ठाकुरलगायतका मानिस घाइते भएका थिए।

झडपमा मुस्लिमतर्फ पनि घाइते भएको तर घाईतेको संख्या यकिन हुन नसकेको प्रहरीले बताएको थियो। घटना नियन्त्रण गर्न मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञबिनोद पोखरेल, सशस्त्रका डिआईजी दीपेन्द्र साहसमेत घटनास्थलमा पुगेका थिए।

स्थिति नियन्तरणमा लिन सिडियो हिरालाल रेग्मीले एक सूचना जारी गर्दै शनिवार साँझ ५ बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी गरेका थिए। कर्फ्यू अवधिमै उच्छङ्खल गतिबिधि भएपछि स्थानीय प्रशासनले कर्फ्यू क्षेत्र फराकिलो बनाएको छ।

कर्फ्यू जारीसँगै उक्त क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी गरी ७०० जनशक्ति परिचालन गरिएको छ। अवस्था सामान्य पनि भएको थियो।

यसैबीच कर्फ्युकै अवधिमा आज आइतबार केही उच्छङ्खल युवाहरुको समुहले ईशनाथ नगरपालिका  औरैया गाउँमा रहेको मस्दिजको माथि गुम्बदबाट माइक (हरन ) खोलेको छ। यसरी मस्जिदको माथि रहेको माइक खोल्दा पुनः अवस्था तनावग्रस्त हुनसक्ने भएकाले प्रहरीले सजगता अपनाएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले घटनाको पुष्टि गर्दै संलग्नको खोजी भइरहेको बताएकी छन्।

कर्फ्यू अवधिमै थपसमाप्रदायिक बिवाद बढ्ने सम्भावना लाई नजर गर्दै सिडियो रेग्मीले आइतवार एक सूचना जारी गर्दै कर्फ्युको दायरा फराकिलो बनाएको छ।

बनजरहा नगरपालिका वडा २,३,४,५, ६ र ७ मा समेत अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ। पूर्वमा बनजरहा मोड हनुमान मन्दिर, पश्चिम सानो घिउरा, उत्तर रामपुर खाप र दक्षिणमा सशस्त्र प्रहरी आउट पोस्ट बोर्डर औरैयादेखि जयनगरसम्म चारकिल्लाभित्र कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ। साथै यस सम्प्रदायिक बिवादलाई फैलाउने र बढाउने कुनै प्रकारको तस्वीर भिडियो, स्टाटस सामाजिक सञ्जालमा नराख्न जिल्ला प्रहरी कार्यालय रौतहटले आग्रह गरेको छ।

पछिल्लो दुई तीन दिनदेखि केही मानिसहरूले ईशनाथको घटनासँग जोडिएको बिभिन्न भ्रामक भिडियो तस्बिर तथा स्टाटसहरू सामाजिक सञ्जालमा देखिएकाले सामाजिक सदभाव कायम राख्न त्यस्तो गतिबिधि नगर्न जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्लाबासीलाई आग्रह गरेको छ।